धनुषा : लोग्नेले विदेशबाटै दिए तलाक, प्रेमीले निकाह गर्न मानेनन्

  • चैत १४, २०७८
  • ९२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, १३ चैत । इस्लामिक विधिशास्त्रअनुसार सम्बन्धविच्छेदपछि पनि तीन महिना तेह्र दिन पूर्वपतिका घरमा बस्न पाउने व्यवस्थाका कारण अहिले उनी ‘घर’ मै बसिरहेकी छिन् । वैदेशिक रोजगारमा रहेका लोग्नेले खाडीबाटै ‘तलाक’ दिइसकेका छन् । गाउँकै एउटो केटोसँग मायापिरतीमा परेर बसेको गर्भ पतन भएको घटना थाहा पाएका लोग्नेले फोनबाटै दिएको तलाक अस्वीकार गर्ने अवस्था पनि छैन उनका लागि । त्यसो पनि उनी पछिल्लोपटक माया गरेकी केटासँगै घरजम गर्ने ध्याउन्नमा थिइन् । तर, गाउँका त्यो केटाले सम्बन्ध स्वीकार्न र घर भित्र्याउन नचाहेपछि उनलाई यतिखेर आफू बिल्लिबाँठमा परिसकेको अनुभव भइरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ की रसिदा (नाउँ परिवर्तित) उमेरमा कलिलै छिन् तर दुई बालककी आमा । सात महिनाअगाडि लोग्ने विदेशिएपछि छिमेकीकहाँ घरधन्दामा सघाउन गइरहँदा उनको त्यो केटासँग भेट हुन्छ । र, बिस्तारै हिमचिम बढ्दै जाँदा पटकपटक शारीरिक सम्बन्ध पनि बन्छ । अझ त्यो केटाका काकाले आँखा तेर्सो पारेपछि नजिकिने सबै सीमाले पार पाउँछ । पाँच महिनायताका सम्बन्धका कारण रसिदा गर्भवती हुन्छे । त्यसपछि घटनाक्रममा केटाका बाबु र हजुरबाको प्रवेश हुन्छ । उनीहरूले गर्भपतन गराएपछि ‘छोरोनाति’ सँग निकाह गराइदिने आश्वासन दिन्छन् । त्यसपछि रसिदालाई फकाएरै औषधि खुवाउँछन् । औषधिका कारण त्यतिञ्जेलसम्म गर्भ जाँदैन । त्यसपछि रसिदालाई जनकपुरमा ल्याएर अल्ट्रासाउन्ड गराइन्छ । अल्ट्रासाउन्डको रिपोर्ट भने रसिदालाई दिइँदैन ।

अल्ट्रासाउन्डपछि गाउँमै फर्केकी रसिदाको पहिले नै खाएकी औषधिका कारण गर्भपतन हुन्छ । घटनाबारृे गाउँटोलमा हल्लाखल्ला भइसकेको हुन्छ । त्यसपछि रसिदा आँट गरेरै सबै कुरा आफ्ना जेठाजुलाई सुनाउँछिन् । उनले लगातार बिहा गर्न भनेर केटा र तिनका अभिभावकलाई करबल गरिरहन्छिन् । तर, केटापक्ष सम्बन्धबाटै पन्छिन् चाहन्छन् । नयाँ केटासँग घरजम गर्ने सपनामा भावना र शरीर दुवै साटेकी रसिदा केटापक्षको बेवास्ताबाट दिक्क भएर जिल्ला प्रहरी कार्यालयको महिला सेलमा निवेदन दिन्छिन् । यता गाउँलेहरूले गाउँको इज्जत र मर्यादा धूलधुसरित हुने भन्दै मुद्दालाई गाउँघरमै मिलाउने भनेर वडा कार्यालय पुग्छन् । करिब चार सयभन्दा बढी महिला, पुरुष र बालबालिकाहरूको बाक्लो भिडका बीच दुवै पक्षबीच चर्काचर्की नै भयो । तर, केटापक्षले भने रसिदालाई स्वीकार गर्न तयार भएनन् । बरु अरू नै जोरजाममा सहमति गर्न खोजे । वडाध्यक्ष सत्यनारायण दनुवारका अनुसार मुद्दा प्रहरीकहाँ पुगिसकेकाले गाउँघरमा मिलाउन नसकिने भन्दै भिडलाई पन्छाए । उनले भने, ‘यस्तो मुद्दामा वडा कार्यालयले केही गर्न सक्दैन । त्यसैले गाउँलेहरूलाई सम्झाइबुझाइ पठाएँ ।’

पीडित महिलालाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ६ का अध्यक्ष सत्यनारायण दनुवार

पञ्चायतमा रसिदाको अर्को बिहाका लागि केटापक्षबाट क्षतिपूर्तिबापत सात लाख रुपैयाँको तमसुक गराइएको आरोप वडाध्यक्ष दनुवारमाथि छ । उनले भने, ‘चुनावका बेला भएकाले विपक्षीहरूले केटालाई उपयोग गरेर गलत र भ्रामक आरोप लगाएका छन् ।’पञ्चायतका विवादास्पद निर्णयका कुराबीच भने रसिदाका समस्या ओझेलमा परेको छ । रसिदाले पाएको तीन महिना तेह्र दिन बिस्तारै बित्दैछ । तर, उनको भविष्य के हुने भन्नेमा अन्योल छ । उनले भनिन्,‘केटा र उनका बाबुले बच्चा खसाएपछि बिहा गरिदिने भनेपछि मैले औषधि खाएँ । तर, गर्भपतन भइसकेपछि अब उनीहरू आफ्नो कुराबाट पछि हट्दैछन् । नानाथरीका निहुँ बनाएर कुरा गर्न नै मान्दैनन् ।’ सम्बन्धमा हुँदा केटा र केटाका बाबुले आफूसँग तीन लाख रुपैयाँ नगद, तीन तोला सुन र पायलसमेत लगेको रसिदाले बताइन् । उनले आफूलाई फकाइफुलाइ यौन शोषण गरेको र बिच्चलीमा पारेका केटा र उनका पारिवारिक सदस्यमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिन् । वडाध्यक्ष दनुवारले पीडित महिलालाई न्याय दिलाउन आफूले पहल गर्ने बताए । यो समाचार प्रशोधक बाट लिएको हो 

प्रतिक्रिया दिनुहोस

राउ स्मारक अस्पतालमा ...

रहमुल लहान १० जेठ । सिरहाको लहान स्थित रा.उ. स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंस ...

नाम मात्रको भर्ना अभ ...

लहान, जेठ १० । लहान नगरपालिका–१ मा रहेको पशुपति आदर्श माध्यमिक विद्यालयको हालै गरिएको अनुगमनले ...

इलाका प्रहरी कार्याल ...

अजय मिश्र, कृष्णनगर, जेठ १० इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१