Siraha Times
ताजा समाचार

विस्फोटअघि काबुल विमानस्थलमै थिए ४२ नेपाली

  • भदौ १२, २०७८
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौ - अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलछेउमा बिहीबार साँझ दुईवटा विस्फोट भए । काबुल छाड्न प्रतीक्षा गरिरहेकाहरूको भिडमा भएको आतंकवादी विस्फोटमा परी शुक्रबार साँझसम्म अमेरिकी दूतावासका १३ कर्मचारीसहित एक सय ७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उक्त विमानस्थलमा उद्धारको अपेक्षामा बुधबार राति ४२ नेपाली पनि थिए । तर, उद्धार नभएपछि राति नै विमानस्थल छाडेकाले उनीहरू विस्फोटबाट जोगिएका छन् ।

उद्धारका क्रममा काबुल विमानस्थल पुगेका ४२ जना नेपाली विस्फोट हुनुभन्दा पहिले नै त्यहाँबाट १३ किलोमिटर दूरीको गुरुद्वारामा पुगिसकेका रहेछन्, हाल उनीहरू सुरक्षित छन्,’ परराष्ट्र मन्त्रालयको उद्धार कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘उनीहरूलाई उद्धारका लागि परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासले भारत र अमेरिकी सरकारसँग समन्वय गरिरहेको छ । 

केही दिनमै उद्धार हुने अपेक्षा गरेका छौँ ।’ हाल गुरुद्वारामा सुरक्षित रहे पनि आफूहरूमा त्रास बढेको एक नेपालीले टेलिफोनमा बताए । ‘हामी विस्फोटभन्दा पहिल्यै गुरुद्वारा आएर बसेकाले जोगियौँ, तर अब के हुने हो भन्ने त्रासमा छौँ,’ उनले भने, ‘दिल्लीको नेपाली दूतावास र काबुलस्थित भारतीय दूतावासका कर्मचारीसँग नियमित सम्पर्कमा छौँ । सुरक्षाका कारण थप कुराकानी गर्न सक्ने अवस्थामा पनि छैनौँ ।’ 

परराष्ट्र मन्त्रालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली एउटै समूहमा सुरक्षित अवस्थामा रहेको र नियमित सम्पर्क भइरहेको जनाएको छ । काबुलमा शिख समुदायले सञ्चालन गरेको गुरुद्वारामा निःशुल्क बस्ने र खाने व्यवस्था छ । ‘नेपाली र भारतीयहरू त्यहाँ बसेका छन् । भारतीय एयरफोर्सको विमानबाट उनीहरूको उद्धार हुने गरी कूटनीतिक प्रयास गरिरहेका छौँ । अमेरिकासँग पनि समन्वय गरिरहेका छौँ,’ परराष्ट्रका एक अधिकारीले भने । 

विस्फोटको अघिल्लो दिन अर्थात् बुधबार मात्रै ११ नेपाली काबुलबाट नयाँदिल्ली आइपुगेका छन् । उनीहरू स्वदेश फर्किने क्रममा रहेको परराष्ट्रले जनाएको छ । ‘अब ४२ जनाको उद्धार गरेपछि हाम्रो काम मोटामोटी सकिन्छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘संयुक्त राष्ट्रसंघीय कार्यालय र युनिसेफमा कार्यरत चार सय ७० जना सुरक्षागार्ड तथा अधिकृतस्तरका नेपाली सुरक्षित हुनुहुन्छ, उहाँहरूलाई नेपाल सरकारले उद्धार गर्नुपर्ने अवस्था छैन ।’ उद्धारका लागि परराष्ट्रको कन्सुलर विभागमा व्यक्तिगत विवरण बुझाएका करिब तीन सय ६० नेपालीमध्ये केही आइसकेको, ४२ जना आउने क्रममा रहेको र बाँकी संयुक्त राष्ट्रसंघीय कार्यालयमा रहेको पनि परराष्ट्र स्रोतले बतायो । 

अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार साँझ जारी गरेको सन्देशमा पछिल्ला केही सातायता आठ सय नेपालीको उद्धार गरिएको उल्लेख छ । असाधारण परिस्थितिमा मानवताका आधारमा नेपालीसहित अफगान नागरिकको उद्धार भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१