Siraha Times
ताजा समाचार

शिक्षकको मेहनत, अभिभावकको निगरानी र स्थानीय सरकारको लगानीले विद्यालय सुधार्ने प्रतिबद्धता

  • असोज ३, २०८३
  • ३१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान,०३ असोज ।“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रगतियुक्त सक्षमता” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा सिरहाको भगवानपुर गाउँपालिका–१ कल्याणपुरस्थित श्री खुशीलाल उचितलाल जनता आधारभूत विद्यालयमा पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people and text

शैक्षिक सत्र २०८२ को कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा विद्यार्थी, शिक्षक तथा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने विभिन्न पक्षलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दल कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव प्रमुख अतिथि थिए। कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादव, जिल्ला समन्वय समिति सदस्य सूर्यनाथ यादव, प्राध्यापक डा. नवोनारायण झा, विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, दाता परिवार, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागिता थियो।

May be an image of one or more people and text

विद्यालयको आयोजनामा असोज २ गते शुक्रबार दिउँसो विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, उत्कृष्ट कार्यसम्पादन तथा विद्यालयको विकासमा पुर्‍याइएको योगदानको मूल्याङ्कन गर्दै विद्यार्थी, शिक्षक तथा सम्बन्धित पक्षलाई सम्मान गरिएको थियो। आयोजकका अनुसार शिक्षा दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नगरी विद्यालयमा उत्कृष्टता, सिर्जनशीलता, सीप र योगदानको पहिचान तथा प्रोत्साहन गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको थियो।

May be an image of one or more people and text

कार्यक्रममा सहभागी वक्ताहरूले प्रधानाध्यापक विष्णुदेव यादवको नेतृत्वमा शिक्षक टोलीले गरेको मेहनत र विद्यालयप्रतिको जिम्मेवारीका कारण पछिल्लो समय विद्यालयको शैक्षिक वातावरणमा सुधार आएको बताएका थिए। उनीहरूले विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गरिरहेको दाबी गर्दै शैक्षिक सुधारसँगै भौतिक पूर्वाधार तथा आयस्रोतको अभाव भने अझै चुनौतीका रूपमा रहेको उल्लेख गरे। विद्यालयमा आवश्यक स्रोतसाधनको अभाव रहेकाले त्यसको सम्बोधनका लागि स्थानीय सरकार, अभिभावक, व्यवस्थापन समिति, नागरिक समाज तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

May be an image of one or more people and people studying

पूर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले विद्यालय आफ्नो कार्यकालदेखि नै सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै यसको गुणस्तर अझ माथि उठाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार विद्यालयको विकास कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने भएकाले स्थानीय सरकारदेखि अभिभावक र समुदायसम्मले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता छ बताएका थिए। प्राध्यापक डा. नवोनारायण झाले विगत चार वर्षदेखि विद्यालयले शिक्षा दिवसका अवसरमा यस्ता कार्यक्रम गर्दै आएको बताए। यस वर्ष विद्यार्थीको मूल्याङ्कन विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकहरू मिलेर गरेको जानकारी दिँदै उनले आगामी दिनमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कन स्थानीय सरकारले समेत प्रभावकारी ढंगले गर्नुपर्नेमा जोड दिए।

May be an image of one or more people

उनले विद्यालयलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नुपर्ने धारणा राखे। स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र समुदायबीच प्रभावकारी समन्वय र सहकार्य भए कल्याणपुरको उक्त विद्यालयलाई गाउँपालिकाकै नमुना विद्यालयका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

May be an image of one or more people, people smiling and people studying

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले कार्यक्रममा उठाइएका विद्यालयका समस्या तथा सुझावलाई स्थानीय सरकारले सकारात्मक रूपमा लिएको बताए। विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तथा देखिएका समस्या समाधानका लागि आफ्नो नेतृत्वको स्थानीय सरकार पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे।

May be an image of one or more people

“विद्यालय राम्रो बनाउन अभिभावकको निगरानी, विद्यार्थीको लगनशीलता, शिक्षकको मेहनत र सरकारको लगानी उत्तिकै महत्वपूर्ण हुन्छ,” अध्यक्ष यादवले भने। विद्यालयप्रति अभिभावक, शिक्षक, विद्यार्थी र समुदायको चासो देखिएको उल्लेख गर्दै उनले स्थानीय सरकार पनि विद्यालयको गुणस्तर सुधारका विषयमा गम्भीर रहेको बताए।

May be an image of one or more people and text

कार्यक्रममा सहभागी अभिभावक तथा स्थानीयले प्रधानाध्यापक यादव विद्यालयमा आएयता विद्यालयको व्यवस्थापन र शैक्षिक वातावरणमा सुधार आएको बताएका थिए। उनीहरूका अनुसार विद्यालयमा विद्यार्थीहरू नियमित पोसाकमा आउने, प्रत्येक घण्टीमा नियमित पठनपाठन हुने तथा अभिभावकहरू आफ्ना बालबालिकाको पढाइप्रति सक्रिय हुन थालेका छन्।

May be an image of one or more people and people studying

विद्यालयको अर्को उल्लेखनीय पक्षका रूपमा अभिभावकको नियमित सहभागितालाई लिइएको छ। टिफिनको समयमा अभिभावकहरू आफ्ना बालबालिकाका लागि टिफिन बक्स लिएर विद्यालय पुग्ने र घरमा समेत दैनिक गृहकार्य जाँच गर्ने गरेको कार्यक्रममा बताइएको थियो। कल्याणपुरका नागरिक समाजका व्यक्तिहरूले समेत विद्यालयको अवस्था र शैक्षिक गतिविधिबारे नियमित चासो राख्दै आएको सहभागीहरूले उल्लेख गरे।

May be an image of one or more people and crowd

विद्यालयमा अधिकांश विद्यार्थी विपन्न, दलित तथा आर्थिक रूपमा कमजोर परिवारबाट आउने गरेको बताइएको छ। आर्थिक अभावका कारण आफूहरूले पर्याप्त शिक्षा हासिल गर्न नसकेको भन्दै केही अभिभावकले अहिले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिलाउन विद्यालयप्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता महसुस गरेको बताए। “हामी गरिबीका कारण पढ्न पाएनौँ, अब हाम्रा बालबालिका पढ्नुपर्छ” भन्ने अभिभावकहरूको भावनाले विद्यालयप्रतिको समुदायको बढ्दो चासोलाई प्रतिबिम्बित गरेको कार्यक्रममा सहभागीहरूले बताएका थिए। उनीहरूले सरकारले उपलब्ध गराएका शैक्षिक अवसर र सुविधाको सदुपयोग गर्दै विद्यालयलाई अझ राम्रो बनाउने अभियानमा अभिभावक स्वयं सक्रिय हुनुपर्ने धारणा राखे।

May be an image of one or more people

विद्यालयको विकासमा जग्गा उपलब्ध गराउने दाता तथा विभिन्न समयमा विद्यालयलाई सहयोग गर्दै आएका सहयोगीहरूलाई समेत कार्यक्रममा हरेक वर्षझैँ यस वर्ष सम्मान तथा अभिनन्दन गरिएको थियो। विद्यालयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने व्यक्ति र परिवारलाई सम्मान गर्नुले समुदायमा विद्यालयप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

May be an image of one or more people, people smiling and people studying

शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यालयको विगतको उपलब्धिको समीक्षा मात्र नगरी आगामी दिनको शैक्षिक सुधारको दिशासमेत तय गरेको सहभागीहरूले बताएका छन्। भौतिक पूर्वाधार र आर्थिक स्रोतको अभाव सम्बोधन गर्दै अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने, शिक्षकको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, अभिभावकको निगरानी बढाउने तथा स्थानीय समुदायसँगको सहकार्यलाई संस्थागत गर्ने विषयलाई कार्यक्रममा प्राथमिकताका साथ उठाइएको थियो।

May be an image of one or more people

विद्यालयले विपन्न तथा दलित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी बोकेको अवस्थामा स्थानीय सरकारको लगानी र समुदायको सक्रिय सहभागिताले यसको शैक्षिक सुधारलाई थप गति दिन सक्ने देखिएको छ। शिक्षा दिवसका अवसरमा गरिएको सम्मान र पुरस्कार वितरणले विद्यार्थी तथा शिक्षकलाई प्रोत्साहन गर्नुका साथै विद्यालय सुधारमा योगदान गर्ने अभिभावक, दाता र समुदायको भूमिकालाई समेत सार्वजनिक रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ज ...

रहमुल, लहान ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा अगुवा ...

जेन्जी आन्दोलनका क्र ...

ओम प्रकाश यादव, लहान असोज २ । जेन्जी आन्दोलनका क्रममा लागूऔषध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँक ...

घर–घरको शान, स्वच्छत ...

ओम प्रकाश यादव, लहान असोज २ । सिरहा जिल्लाको लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१