Siraha Times
ताजा समाचार

लहान–२३ मा साक्षर वडा घोषणा तयारीबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

  • पुस ११, २०८२
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ११ । लहान नगरपालिका–२३ स्थित मिथिला सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाको शैक्षिक उन्नयन तथा साक्षर वडा घोषणा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति (जिसस) प्रमुख, वडा जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा वडाभित्रको साक्षरता अवस्था, विद्यालय पहुँच, विद्यार्थी टिकाउपन, शैक्षिक गुणस्तर सुधार र समुदायको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले साक्षरता अभियानलाई प्रभावकारी बनाउन समुदाय–विद्यालय–स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा जिसस प्रमुखले साक्षर वडा घोषणा केवल औपचारिकता नभई व्यवहारमा देखिने परिणाममुखी अभियान हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउने, अभिभावक सचेतना बढाउने र निरन्तर अनुगमनमार्फत शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिनुभयो। 

वडा जनप्रतिनिधिहरूले वडालाई साक्षर वडा घोषणा गर्न आवश्यक सूचकहरू पूरा गर्ने प्रतिबद्धता जनाए। वडास्तरमा साक्षरता कक्षा सञ्चालन, विद्यालय सुधार कार्यक्रम, छात्रवृत्ति तथा आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने योजना प्रस्तुत गरियो। साथै, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरिएको छ। 

शिक्षकहरूले विद्यार्थी केन्द्रित शिक्षण पद्धति अपनाउँदै पठनपाठनको गुणस्तर बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए। अभिभावक प्रतिनिधिहरूले बालबालिकाको नियमित विद्यालय उपस्थितिमा ध्यान दिने, घरमै अध्ययनको वातावरण बनाउने र विद्यालयसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। 

सामाजिक अभियन्ताहरूले साक्षरता अभियानमा समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेको उल्लेख गर्दै महिला, दलित तथा पिछडिएका समुदायसम्म अभियान पुर्‍याउन विशेष रणनीति आवश्यक रहेको बताए। मिथिला सामुदायिक सिकाइ केन्द्रले आगामी दिनमा घरदैलो अभियान, साक्षरता कक्षा र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिइयो। कार्यक्रमको अन्त्यमा सहभागी सबैले लहान–२३ लाई छिट्टै साक्षर वडा घोषणा गर्न सामूहिक प्रयास गर्ने संकल्प व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१