बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद मन्त्रीका रूपमा चिनिन्छन् । केही वर्ष अघि सामाजिक सञ्जालमा आफ्नो सक्रियता र सेवाभावका कारण चर्चामा आएका बब्लु गुप्ता अहिले जनताको मनमस्तिष्कमा आशा र प्रेरणाको पात्र बनेका छन् ।
उनका हजुरबुवा लहान–२३ बथनाहा चौकमा सानो चिया नास्ताको पसल चलाएर परिवारको पालनपोषण गर्थे । यही साधारण परिवारबाट उठेका बब्लुले आफ्नो मेहनत, लगन र जनसेवाप्रतिको समर्पणबाट देशकै युवा आइकन बन्न सफल भएका छन् । खेलकुद मन्त्रीको जिम्मेवारी पाएपछि उनले कुनै जात, धर्म वा वर्गमा विभेद नगरी सम्पूर्ण नेपाली युवाको प्रतिनिधित्व गर्ने दृढ संकल्प व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा लहानमा आयोजित एक विशेष कार्यक्रममा कमलापुरी वैश्य समाज नगर कार्यसमिति लहानले नवनियुक्त मन्त्री बब्लु गुप्तालाई बधाई तथा सम्मान प्रदान गरेको थियो । कार्यक्रममा समाजका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षता थियो भने प्रमुख अतिथि स्वयं मन्त्री बब्लु गुप्ता थिए । विशिष्ट अतिथिमा कन्हैया प्रसाद गुप्ता, शंकर प्रसाद गुप्ता, राजेश गुप्ता र विष्णु गुप्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्रीमण्डलका सदस्यका रूपमा पहिलो पटक गृहजिल्ला पुगेका बब्लुले आफ्नो सन्देशमा भने, “भगवानलाई पूजा मात्र नगरी, उहाँको वास्तविक भूमिका आफ्नो जीवनमा उतार्नुपर्छ । प्रत्येक नागरिकले आफ्नो क्षेत्रबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्छ।” उनले युवाहरूलाई खेलकुद, शिक्षा र रोजगारको क्षेत्रमा अग्रसर बन्न आग्रह गरे ।
त्यस अवसरमा अध्यक्ष विजय गुप्ताले विद्यालय तहदेखि नै खेलकुदलाई विषयगत रूपमा समावेश गर्ने र युवालाई शिक्षा तथा रोजगारीसँग जोड्ने नीतिगत पहल आवश्यक रहेको बताए । बब्लु गुप्ताको जीवन कथा जनताको मनमा उर्जा र विश्वास जगाउने खालको छ । चिया पसलको साधारण परिवेशबाट उठेर मन्त्री पदमा पुगेका उनी आज हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । बिदाको दिनमा समेत उनले जनतासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय रेडियोमा अन्तर्वार्ता दिने र समाजका विविध क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने आफ्नो निरन्तर अभ्यास जारी राखेका छन् ।
नेपाली जनताले आज उनलाई “देशको युवा योद्धा”को रूपमा हेर्न थालेका छन् — जसले केवल सपना मात्र होइन, जनताको विश्वास पनि जितेका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic