Siraha Times
ताजा समाचार

लहानमा भव्यताका साथ श्रीकृष्ण जन्माष्टमी मेला सप्पन्न

  • भदौ २, २०८२
  • १००३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा लहान नगरपालिका–८ र वडा नं. १ को तरकारी बजारमा राधाकृष्ण, नाग, जसोधा लगायतका आकर्षक मूर्तिहरू बनाई विशेष मेला आयोजना गरिएको थियो। श्रीकृष्ण जन्मको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो।

लहान–८ र वडा नं. १ मा आयोजना गरिएको मेलामा लहान नगर मात्र नभई छिमेकी जिल्ला सप्तरीसहितका लाखौँ मेलाप्रेमीहरूको ठूलो भिड लागेको देखिन्थ्यो। मेलामा सहभागी स्थानीय शोभा कुमारी गुप्ताले बताइन्, “लाखौँ मानिसहरूको सहभागितासहित भव्य रूपमा यो मेला सम्पन्न हुनु हाम्रो नगरकै गौरव हो।” मेलामा भीड अत्यधिक भए तापनि सुरक्षा व्यवस्थामा खटिएका प्रहरी र ट्राफिक टोलीको सक्रियताले कुनै अप्रिय घटना घट्न पाएन। भीड व्यवस्थापन, मेलास्थल वरिपरिको निगरानी तथा सडकमा सहज आवत–जावत सुनिश्चित गर्न प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको थियो। विशेष गरी नेपाल बैंक नजिक कतिपय युवायुवतीबीच देखिन सक्ने अस्वस्थ प्रतिस्पर्धा वा चालचलनबाट नकारात्मक स्थिति सिर्जना हुन नदिन प्रहरीको निरन्तर निगरानीले मेलालाई शान्तिपूर्ण बनाउन सफल भएको हो।

यसरी शान्ति–सुरक्षा कायम रहँदा भक्तजनहरूले निश्चिन्त भएर धार्मिक श्रद्धा–भक्तिका साथ कृष्ण जन्माष्टमी पर्व मनाउन पाएका थिए। श्रीकृष्ण जन्माष्टमी किन मनाइन्छ? श्रीकृष्ण जन्माष्टमी हिन्दूहरूको प्रमुख धार्मिक पर्व हो। यस दिनलाई भगवान श्रीकृष्णको जन्मजयन्तीको रूपमा मनाइन्छ। पुराणका अनुसार द्वापर युगमा मथुरामा असुरराज कंशको अत्याचार अन्त्य गर्न र धर्मस्थापनाका लागि वासुदेव र देवकीका आठौँ सन्तानका रूपमा भगवान कृष्ण जन्मनुभएको थियो।

कृष्णलाई धर्म, न्याय र सत्यका संरक्षकका रूपमा मानिन्छ। बाल्यकालदेखि नै उहाँले दैत्यहरूको वध गर्दै, असुर शक्तिलाई नष्ट गर्दै, साधुसन्त र धर्मप्रेमी जनताको रक्षा गर्नुभएको कथा पुराणमा उल्लेख छ। महाभारतमा अर्जुनलाई गीता उपदेश दिने कृष्णलाई सर्वोच्च योगेश्वर र भक्तिभावको प्रतीकका रूपमा मानिन्छ। जन्माष्टमीको राति व्रत, पूजा–अर्चना, भजन–कीर्तन तथा नृत्य–नाटिका गरेर भक्तजनहरूले भगवानप्रति आस्था प्रकट गर्छन्। मध्यरातमा कृष्णको जन्म भएको बेला विशेष पूजा गरी उनको मूर्तिमा झुला झुलाइने परम्परा पनि प्रचलित छ। यस दिनलाई सत्यको विजय र अन्याय–अत्याचारमाथि धर्मको जितको प्रतीकका रूपमा लिइन्छ। धार्मिक तथा सांस्कृतिक महत्व

लहानमा मनाइने यो पर्व केवल धार्मिक भावनासम्म सीमित छैन, यो मेलाले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश पनि दिन्छ। विभिन्न स्थानबाट आएका भक्तजनले आपसी मेलमिलाप, भेटघाट र सहकार्यलाई अझ प्रगाढ बनाउने अवसर पाउँछन्। मेलाले स्थानीय व्यापार, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने गरेको छ। यसरी लाखौँको उपस्थितिमा सम्पन्न भएको श्रीकृष्ण जन्माष्टमी पर्व लहान नगर मात्र नभई सम्पूर्ण मिथिलाञ्चलकै धार्मिक उत्सव बनेको देखिन्छ। शान्ति–सुरक्षा कायम रहँदा, भक्तिभाव र उल्लासको माहोलमा सम्पन्न यस वर्षको मेला नगरवासीका लागि ऐतिहासिक स्मरणीय बनेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१