“विशेष, संरक्षित र स्वायत्त क्षेत्र कायम गर” मुल नारासहित दनुवार समुदायको ५ औं वार्षिक साधारण सभा सम्पन्न

  • चैत २९, २०८१
  • ५४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कायम गर” भन्ने मुल नाराका साथ दनुवार समुदायको पाँचौं वार्षिक साधारण सभा शुक्रबार सिरहा जिल्लाको मिर्चैया नगरपालिका–७ स्थित स्वस्तिक पाठशालामा सम्पन्न भएको छ। दनुवार जागरण केन्द्रिय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समुदायका अधिकार, पहिचान, संरक्षण र सशक्तीकरणका विविध पक्षमा बहस र प्रतिबद्धता जनाइएको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रिय अध्यक्ष रामकुमार सिंहले गरेका थिए भने प्रमुख अतिथि कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार थिइन्। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार, लक्ष्मीपुर गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारु, दनुवार जागरण केन्द्रकी केन्द्रिय उपाध्यक्ष शान्ति दनुवार, समाजसेवी जितु सिङ्ह दनुवार लगायतको उपस्थिति रहेको थियो।

उपसभामुख सिर्जना दनुवारले आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधानले व्यवस्था गरेको संरचना र अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै समुदायहरू अझै राज्यबाट बञ्चित रहेको बताइन्। “हामी अधिकारका लागि माग गर्दै बसेका छैनौं, संविधानले दिएको अधिकारको कार्यान्वयन माग गरिरहेका छौं,” उनले भनिन्। उनले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको माग संविधानको मर्म अनुसार नै भएको भन्दै दनुवार समुदायले अब एकजुट भएर संगठित दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याइन्।

सभामा बोल्ने अन्य वक्ताहरूले पनि दनुवार समुदाय अझै शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि अधिकार लगायतका आधारभूत सुविधाबाट टाढा रहेको उल्लेख गर्दै राज्यको तर्फबाट दिगो समाधानको पहल हुनुपर्ने धारणा राखे। दनुवार जागरण केन्द्रका अध्यक्ष रामकुमार सिंहले संगठनमार्फत समुदायमा चेतनाको विकास, भाषा र संस्कृतिको संरक्षण, राजनीतिक सशक्तीकरण र सामाजिक समानताको लागि निरन्तर अभियान जारी राखिने जानकारी दिए। कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीहरूले विगत वर्षको प्रगतिविवरण तथा भावी योजना प्रस्तुत गरे। विशेषगरी, दनुवार भाषाको विकास, समुदायका युवाहरूका लागि नेतृत्व तथा सीप विकास तालिम, महिलाहरूको सशक्तीकरण, बालबालिकाको शिक्षा प्रवर्द्धन तथा विभिन्न पालिकासँग सहकार्य गर्ने योजना सार्वजनिक गरिएको थियो।

सभामा विभिन्न पालिकाका प्रमुखहरूले दनुवार समुदायको हकहितका लागि स्थानीय सरकारबाट सहयोग जारी रहने प्रतिबद्धता जनाए। मिर्चैया नगरप्रमुख श्रवण यादवले समुदायको मागबारे संघीय सरकारसम्म आवाज पुर्‍याउन नगरपालिकाले पहल गर्ने बताए। कार्यक्रममा दनुवार समुदायको उत्थानमा योगदान पुर्‍याएका अग्रज, अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। स्वस्तिक पाठशालामा आयोजित उक्त कार्यक्रममा सिरहा, सप्तरी, सिन्धुली, उदयपुर, धनुषा, महोत्तरी लगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पाँचौं वार्षिक साधारण सभाले समुदायलाई एकताको सूत्रमा बाँध्दै, अधिकारका मुद्दामा स्पष्ट आवाज बुलन्द गरेको आयोजकहरूले जनाएका छन्। सभा सफलतापूर्वक सम्पन्न गर्दै उपस्थित सबै पक्षले आगामी दिनमा दनुवार समुदायको अधिकार सुनिश्चित गर्ने कार्यमा हातेमालो गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१