विनोद अविरल, जेठ १९ । चुनौती र सामाजिक बन्धनहरूलाई तोड्दै दृढ इच्छाशक्ति र कडा परिश्रम गरेमा सफलताको शिखर चुम्न असम्भव छैन भन्ने कुरा सिरहाकी एक दिदीबहिनीले प्रमाणित गरेकी छिन् । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १३ की पूजा राम चमार जातिबाट देशकै पहिलो र समग्र मधेसी दलित महिलाको इतिहासमा दोस्रो कानुन व्यवसायी (वकिल) बन्न सफल भएकी छिन् ।
नेपाल कानुन व्यवसायी परिषद्ले लिएको अधिवक्ताको परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गरेसँगै पूजाले आफ्नो समुदाय र सिङ्गो देशकै लागि एउटा नयाँ इतिहास रचेकी हुन् । मधेसी दलित समुदाय, त्यसमा पनि चमार जातिमा छोरीहरूलाई उच्च शिक्षा दिनु अझै पनि चुनौतीपूर्ण मानिन्छ । आर्थिक अभाव, सामाजिक पछौटेपन र जातीय विभेदका अनेकन् पर्खालहरूलाई नाघ्दै पूजाले कानुनको अध्ययन पूरा गरेकी हुन् ।
उनले समाजमा व्याप्त अन्याय र उत्पीडनलाई नजिकबाट नियालेकै कारण आफूले न्यायको मार्ग (कानुन) रोजेको बताउँछिन् । "हाम्रो समुदायमा अझै पनि न्यायको पहुँच पुग्न सकेको छैन । म केवल वकिल मात्र बनेकी होइन, आफ्ना मानिसहरूका लागि न्यायको आवाज बन्न चाहन्छु," पूजाले खुसी व्यक्त गर्दै भनिन् ।
नेपालको इतिहासमा दलित र सीमान्तकृत समुदायबाट कानुन क्षेत्रमा प्रतिनिधित्व निकै न्यून छ । पूजा रामको यो सफलता चमार जातिबाट कानुन व्यवसायी (अधिवक्ता) बन्ने पूजा नेपालकै पहिलो महिला हुन् । साथै समग्र मधेसी दलित महिलाहरूको इतिहासमा उनी दोस्रो वकिल बन्न सफल भएकी छिन् ।
पूजाको यो सफलताले धनगढीमाई नगरपालिका मात्र नभई सिङ्गो मधेस र देशकै सीमान्तकृत समुदायका बालबालिकाहरूका लागि ठूलो प्रेरणा जगाएको छ । कडा मिहिनेत र लक्ष्यप्रतिको इमानदारिता भए जस्तोसुकै कठिन परिस्थितिमा पनि इतिहास रच्न सकिन्छ भन्ने कुरा उनले पुष्टि गरेकी छिन् । आज पूजा राम केवल एउटा नाम मात्र होइन, समाज रूपान्तरण र महिला सशक्तीकरणको एउटा बलियो खम्बा र जीवन्त उदाहरण बनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic