रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नमुना सामुदायिक वनभित्र निर्माण गरिएको १० हेक्टर क्षेत्रफलको संरक्षण पोखरीमा गरिएको माछापालन कार्यक्रमले आर्थिक, पर्यावरणीय तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ।
चुरे क्षेत्र संरक्षण, वन व्यवस्थापन तथा सीमान्त किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यसहित राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहयोग, CARE Nepal को संरक्षण कार्यक्रम तथा लहान नगरपालिकाको समन्वय र सहयोगमा सञ्चालित उक्त कार्यक्रम अहिले स्थानीय समुदायका लागि प्रेरणादायी नमुना बन्दै गएको छ। कार्यक्रम अन्तर्गत संरक्षण पोखरीमा गरिएको माछापालनबाट अघिल्लो चरणमा ३०० किलो तथा यस वर्ष २१२ किलो माछा उत्पादन भएको जानकारी दिइएको छ।
उत्पादनको मात्रा मात्र नभई यस परियोजनाले स्थानीय स्तरमा खाद्य सुरक्षा, स्वरोजगार र आम्दानी अभिवृद्धिमा समेत सकारात्मक प्रभाव पारेको सरोकारवालाहरू बताउँछन्। विशेषगरी सीमान्त किसान, विपन्न परिवार तथा सामुदायिक वनमा आश्रित स्थानीयवासीहरूलाई संरक्षणमैत्री जीविकोपार्जनतर्फ आकर्षित गर्न यो पहल प्रभावकारी बनेको छ।
संरक्षण पोखरीले जलाधार संरक्षण, भू–क्षय नियन्त्रण तथा जैविक विविधता संवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ। पोखरी क्षेत्रमा विभिन्न जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुको उपस्थिति बढ्दै गएको स्थानीयको भनाइ छ। त्यसैगरी हातीदह क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, सामुदायिक वनको हरियाली र संरक्षण पोखरीको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
स्थानीयवासीका अनुसार उचित पूर्वाधार, प्रचारप्रसार तथा नगरपालिकाको थप प्रोत्साहन प्राप्त भएमा यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने ठूलो सम्भावना रहेको छ। कार्यक्रमले संरक्षण र उत्पादनलाई सँगसँगै अगाडि बढाउने उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीयले लहान नगरपालिकालाई यस्ता जनमुखी तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।
सरोकारवालाहरूका अनुसार चुरे क्षेत्र तथा वन संरक्षणलाई स्थानीय समुदायको आयआर्जनसँग जोडेर अघि बढाउँदा मात्र दिगो संरक्षण सम्भव हुने भएकाले हातीदहको यो नमुना आगामी दिनमा अन्य क्षेत्रमा समेत विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic