रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो को प्रमुख उपस्थितिसहित सशस्त्र प्रहरी बलका डीआईजी, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित उक्त समारोहमा राष्ट्रको सुरक्षा, सीमा व्यवस्थापन, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलले पुर्याउँदै आएको योगदानको चर्चा गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले मुलुकको सुरक्षा प्रणालीलाई मजबुत बनाउन सशस्त्र प्रहरी बलले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिति प्रमुख दिनेश महतोले सशस्त्र प्रहरी बल राष्ट्र र जनताको सुरक्षाका लागि सधैं अग्रपंक्तिमा खटिँदै आएको उल्लेख गर्दै सुरक्षा निकाय र नागरिकबीचको सहकार्य अझ मजबुत हुनुपर्ने धारणा व्यक्त गरे। उनले सीमावर्ती जिल्ला सिरहामा सुरक्षा चुनौती सामना गर्न सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको बताए।
त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बलका डीआईजीले संगठनको स्थापना दिवस केवल औपचारिक समारोह नभई संगठनको जिम्मेवारी, अनुशासन र सेवाभावप्रति पुनः प्रतिबद्ध हुने अवसर भएको बताए। उनले सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, प्राकृतिक विपद् उद्धार तथा शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलले निरन्तर सक्रिय भूमिका खेलिरहेको जानकारी दिए।
समारोहमा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालय प्रमुखहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको बताएका थिए। कार्यक्रममा पत्रकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले विशेष परेड प्रदर्शन, सम्मान कार्यक्रम तथा विविध सांस्कृतिक प्रस्तुति समेत आयोजना गरेको थियो। कार्यक्रममा सहभागीहरूले सशस्त्र प्रहरी बलको व्यावसायिकता, अनुशासन र राष्ट्रप्रतिको समर्पणको प्रशंसा गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic