रहमुल, लहान, ९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित खैरबोना आधारभूत विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक रामखेँलौन यादव नेतृत्वको शिक्षक टोलीद्वारा आयोजित भेलामा अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
भेलामा सहभागी अभिभावक तथा स्थानीयवासीहरूले प्रधानाध्यापक यादवको नेतृत्वमा विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन्। मर्ज प्रक्रियामा रहेको विद्यालयलाई व्यवस्थित र गुणस्तरीय बनाउने दिशामा प्रधानाध्यापक यादव र शिक्षक टोलीले निरन्तर मेहनत गरिरहेको उनीहरूको भनाइ थियो।
स्थानीय अभिभावकहरूले विद्यालयमा अहिले अन्य विद्यालयको तुलनामा राम्रो शैक्षिक वातावरण निर्माण हुँदै गएको उल्लेख गर्दै विद्यार्थी उत्पादनको गुणस्तरमा समेत सुधार देखिएको बताएका छन्। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको र यसले विद्यार्थी तथा अभिभावकमा सकारात्मक उत्साह थपेको जनाइएको छ।
अभिभावक भेलामा विद्यालय प्रशासनसमक्ष विभिन्न मागहरू समेत राखिएको थियो। सहभागीहरूले विद्यार्थीको पठनपाठनलाई अझ प्रभावकारी र समयअनुकूल बनाउनुपर्ने, विद्यालयको भौतिक संरचना व्यवस्थित गर्नुपर्ने तथा थप शिक्षक व्यवस्थापनका लागि स्थानीय सरकारसँग पहल गर्न आग्रह गरेका थिए।
अभिभावकहरूले प्रधानाध्यापक रामखेँलौन यादवको कार्यशैलीको खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यादव बिहानै विद्यालय पुगेर सरसफाइदेखि व्यवस्थापनसम्म सक्रिय रहने, गाउँ–टोलमा पुगेर विद्यार्थी तथा अभिभावकको अवस्था बुझ्ने, नियमित तथा अनुशासित पठनपाठन गराउने र साँझसम्म विद्यालयको शैक्षिक गतिविधिमा खटिने गरेका छन्।
भेलामा बोल्दै प्रधानाध्यापक यादवले विद्यालयलाई उत्कृष्ट नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले विद्यालयको समग्र विकासका लागि अभिभावक, समुदाय, स्थानीय सरकार तथा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।
“सबै पक्षको सकारात्मक सहयोग र सहकार्य रहे खैरबोना आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन कुनै समस्या छैन,” उनले भने। भेलाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic