रहमुल, लहान, ९ जेठ । सिरहाको लहान नगरपालिका–१३ स्थित घलेटोल मुसहर बस्ती शुक्रबार उत्सवमय बनेको छ । वर्षौंदेखि फुसको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका २० सुकुमवासी मुसहर परिवारले अन्ततः सुरक्षित र व्यवस्थित पक्की घर पाएका छन् । लहान नगरपालिका को “विपन्नका लागि सुरक्षित आवास कार्यक्रम” अन्तर्गत निर्माण गरिएका ती घरहरू नगरप्रमुख महेशप्रसाद चौधरी ले एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् ।
वर्षायाममा छानो चुहिने, हिउँदमा शीतले कठ्याङ्ग्रिने र साँघुरो झुप्रोभित्र परिवारसँगै रात काट्नुपर्ने बाध्यता अब इतिहास बनेको स्थानीयवासीले बताएका छन् । पुस्तौँदेखि अभाव र असुरक्षाबीच जीवन बिताइरहेका मुसहर समुदायका परिवारका लागि यो केवल घर हस्तान्तरण कार्यक्रम मात्र नभई सम्मानित जीवनतर्फको नयाँ सुरुवात बनेको उनीहरूको भनाइ छ ।
नवनिर्मित प्रत्येक घरमा दुईवटा बस्ने कोठा र एउटा भान्सा कोठा रहेको छ । घरमाथि जस्तापाता लगाइएको छ भने बाँसको संरचनामा प्लास्टर गरी मजबुत ढंगले निर्माण गरिएको छ । प्राविधिकहरूका अनुसार यी घरहरूको आयु ३० वर्षभन्दा बढी रहनेछ ।
यस परियोजनामा लहान नगरपालिका ले ६९ लाख ४ हजार ५ सय ९६ रुपैयाँ लगानी गरेको छ भने Habitat for Humanity Nepal ले १६ लाख ६६ हजार ६ सय ९६ रुपैयाँ सहयोग गरेको जनाएको छ । साथै लाभग्राही परिवारहरूको करिब साढे २१ लाख रुपैयाँ बराबरको श्रमदान र भवानी एकीकृत विकास केन्द्र को प्राविधिक सहयोगमा घर निर्माण सम्पन्न गरिएको हो ।
“यो केवल घर होइन, राज्यको उपस्थितिको अनुभूति हो” घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न र सुकुमवासी समुदायप्रति राज्यको दायित्वबोधकै परिणामस्वरूप यस्तो अभियान सञ्चालन गरिएको बताए । उनले भने,“राज्य विपन्न नागरिकका लागि हुनुपर्छ । दलित, गरिब र सुकुमवासी समुदायलाई सुरक्षित आवास उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो । यो केवल घर होइन, गरिबको आँगनमा राज्यको उपस्थितिको अनुभूति हो ।”
नगरप्रमुख चौधरीका अनुसार लहान नगरपालिकाले वडा नम्बर १५, १२, २२, २१ र १३ लगायत विभिन्न वडामा हालसम्म झण्डै २ सयभन्दा बढी यस्ता घर निर्माण गरिसकेको छ । उनले आगामी दिनमा पनि विपन्न समुदायका लागि आवास, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए । घरको साँचो बुझ्दै गर्दा धेरै स्थानीय भावुक बनेका थिए । वर्षौंदेखिको पीडा अन्त्य भएको अनुभूति गर्दै कतिपय वृद्धवृद्धाले खुसीका आँसु झारे । एक स्थानीय वृद्धाले भावुक हुँदै भनिन्,“अब बर्खामा रातभरि पानी थापेर बस्नुपर्दैन । बालबच्चालाई कसरी जोगाउने भन्ने डर हट्यो । मेयर साब हाम्रो लागि भगवान बनेर आउनुभयो ।”
कार्यक्रममा सहभागी स्थानीयहरूले नगरप्रमुख चौधरीलाई “विपन्नको सहारा” भन्दै प्रशंसा गरेका थिए । मुसहर बस्तीमा लामो समयपछि देखिएको यस्तो उल्लासपूर्ण दृश्यले सामाजिक न्याय र स्थानीय सरकारको प्रभावकारी भूमिकाको अनुभूति गराएको सहभागीहरूको भनाइ थियो ।
लहान नगरपालिका ले पछिल्लो समय दलित, सुकुमवासी तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । सुरक्षित आवास अभियानलाई सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार मानिएको छ । स्थानीय बुद्धिजीवीहरूका अनुसार यस्तो कार्यक्रमले केवल घर मात्र निर्माण गर्दैन, विपन्न समुदायमा आत्मविश्वास, सुरक्षा र सम्मानको भावना पनि निर्माण गर्छ ।
घलेटोल मुसहर बस्तीमा शुक्रबार देखिएको खुसी, हर्ष र आशाको दृश्यले स्थानीय सरकारप्रति जनविश्वास अझ बलियो बनेको महसुस गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा सञ्चालित यो अभियान अहिले लहान नगरपालिका भित्र सामाजिक उत्तरदायित्व र जनमुखी विकासको उदाहरणका रूपमा चर्चा हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic