Siraha Times
ताजा समाचार

विद्यालयको आम्दानी स्रोत संरक्षणमा जुट्यो महेशवारी मावि

  • जेठ ८, २०८३
  • २७६ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान ८ जेठ । “कला संस्कृतिहाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान” नारासहित समुदायलाई सहयोगको अपिल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय महेशवारी ले विद्यालयको स्वामित्व तथा भोगचलनमा रहेका पोखरीहरूको संरक्षण, व्यवस्थापन तथा आम्दानी पारदर्शी बनाउन महत्वपूर्ण सूचना जारी गरेको छ। विद्यालय प्रशासनले विद्यालयको आर्थिक स्रोत संरक्षण गर्दै शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउने उद्देश्यसहित समुदाय र सरोकारवालासँग सहयोगको अपिल गरेको हो।

विद्यालयद्वारा जारी सूचनाअनुसार विद्यालय मातहत रहेका ओझा पोखरी, झप्टी पोखरी, लभका पोखरी तथा नयाँ खाल्डोमध्ये ओझा पोखरी बाहेकका पोखरीहरू नयाँ टेन्डर (ठेक्का) प्रक्रियामा रहेका छन्। यस अवधिमा सम्बन्धित पोखरीहरूमा माछा नमार्न तथा पोखरीको डिल (महार) क्षेत्रमा निर्माण गरिएका अवैध संरचनाहरू १५ दिनभित्र हटाउन आग्रह गरिएको छ। तोकिएको समयभित्र संरचना खाली नगरिए प्रचलित कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाइने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक जिबछ प्रसाद यादव र सहायक प्रधानाध्यापक बालकृष्ण यादवले संयुक्त रूपमा जारी गरेको सूचनामा विद्यालयको सम्पत्ति संरक्षण सबै समुदायको साझा दायित्व भएको उल्लेख गरिएको छ। सहायक प्रधानाध्यापक बालकृष्ण यादवका अनुसार सखुवानन्कारकट्टी गाउँपालिकाभित्रका २० वटा विद्यालयमध्ये श्री माध्यमिक विद्यालय महेशवारी अहिले विद्यार्थी संख्या, शैक्षिक अनुशासन तथा गुणस्तरीय शिक्षाको हिसाबले उत्कृष्ट विद्यालयको रूपमा स्थापित हुँदै गएको छ।

उनले विद्यालयमा हाल +२ तहसम्म अध्ययन सञ्चालन भइरहेको जानकारी दिँदै निजी स्रोतका शिक्षकहरूको संख्या पनि उल्लेख्य रहेको बताए। विद्यालयको मुख्य आयस्रोत पोखरी मात्रै भएकाले त्यसको संरक्षण अत्यन्त आवश्यक रहेको उनको भनाइ छ। “विद्यालयको सम्पत्ति जोगियो भने मात्रै गुणस्तरीय शिक्षा निरन्तर दिन सकिन्छ,” उनले बताए।

प्रधानाध्यापक जिबछ प्रसाद यादवले विद्यालयलाई “जिरोबाट हिरो” बनाउने यात्रामा विद्यार्थीको मेहनत, शिक्षक टोलीको समर्पण, अभिभावकको सकारात्मक सोच, समुदायको साथ र स्थानीय सरकारको सहयोग महत्वपूर्ण रहेको बताए। उनले विद्यालयको दीर्घकालीन विकासका लागि पोखरीबाट हुने आम्दानी विद्यालयकै शैक्षिक सुधारमा प्रयोग हुने भएकाले समुदाय, अभिभावक तथा स्थानीय सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

स्थानीय सरकारको “कला संस्कृतिहाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले शिक्षा, अनुशासन, संस्कार र गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको जनाएको छ। गाउँपालिकाको सहयोग र समुदायको विश्वासका कारण विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको स्थानीयवासीहरूको भनाइ छ।

विद्यालय प्रशासनले सूचना सम्बन्धित निकायहरूमा समेत बोधार्थ पठाएको जनाएको छ। जसअन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहा, सखुवानन्कारकट्टी गाउँपालिका, वडा नं. ५ कार्यालय, ईलाका प्रहरी कार्यालय लहान तथा ईलाका प्रहरी कार्यालय महेशवारी लाई जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टी–५ म ...

रहमुल, लहान, ८ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ स्थित बि.एम. इंगलिश बोर्डिंग स्कू ...

शिक्षा सहयोगले उज्या ...

रहमुल, लहान ८ जेठ । M.C.C. र दलित जनकल्याण युवा क्लब लहानको संयुक्त सहकार्यमा विद्यालयका सम्पूर्ण वि ...

ठाडी नाकामा तस्करी त ...

रहमुल लहान, ८ जेठ ।  सिरहाको गरगमा, कचनारी बडरी तथा ठाडी नाका आसपासका सीमा क्षेत्रमा पछिल्लो सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१