Siraha Times
ताजा समाचार

आगलागी पीडित सदाय परिवारलाई सिरहा सेवा समाज कतारद्वारा राहत वितरण

  • जेठ २, २०८३
  • ३५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नारासहित सामाजिक सेवामा सक्रिय रहेको सिरहा सेवा समाज कतारले आगलागीबाट पीडित तीन परिवारलाई राहत सामग्री वितरण गरेको छ। संस्थाले सुखिपुर नगरपालिका–१० लालसहिया गाउँस्थित सदाय बस्तीमा आगलागीबाट घरबारविहीन बनेका परिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्दै मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको हो।.

जेठ २ गते आयोजित राहत वितरण कार्यक्रममा केही दिनअघि भएको आगलागीबाट पूर्ण रूपमा घर जलेर क्षति बेहोरेका श्रीराम सदाय, गुलाम सदाय र राजाराम सदायको परिवारलाई राहत प्रदान गरिएको हो । स्थानीयस्तरमा अत्यन्त विपन्न अवस्थामा जीवनयापन गर्दै आएका ती परिवार आगलागीपछि झनै समस्यामा परेका थिए। घटना सार्वजनिक भएपछि कतारमा रहेका सिरहाली नेपालीहरूले सहयोग संकलन गरी पीडित परिवारसम्म राहत पुर्यासएका हुन्।

. कार्यक्रम आयोजक सिरहा सेवा समाज कतारका अध्यक्ष जय प्रकाश यादवका अनुसार वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका सिरहावासी नेपालीहरूले आफ्नो कमाइको केही अंश सामाजिक सेवामा खर्च गर्ने उद्देश्यसहित संस्थामार्फत नियमित सहयोग गर्दै आएका छन्। शिक्षा, स्वास्थ्य, विपद् राहत तथा गरिब असहाय परिवारलाई सहयोग गर्ने अभियानअन्तर्गत यसपटक आगलागी पीडित परिवारलाई राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ। राहत सामग्रीमा प्रत्येक परिवारलाई दुई बोरा चामल, पाँच किलो भुजा, पाँच लिटर खाने तेल, पाँच किलो नुन, पाँच किलो चिउरा, दालमोट, सोयाबिन, साबुन लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको थियो। 

राहत हस्तान्तरण कार्यक्रममा जिल्ला सवन्वय समितिका प्रमुख दिनेश कुमार महतोले सामाजिक सेवामा सक्रिय रहेको संस्थाको खुलेर प्रशंसा गरे। उनले विपद्को समयमा गरिब तथा असहाय नागरिकको साथमा उभिनु नै साँचो मानव सेवा भएको उल्लेख गर्दै सिरहा सेवा समाज कतारले विगतदेखि नै विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताए।

उनले भने, “यस संस्थाले यस्ता धेरै सहयोगका कामहरू गरिरहेको छ। म स्वयं विभिन्न ठाउँमा पुगेर राहत वितरणमा सहभागी भएको छु। विदेशमा रहेर पनि आफ्नो जिल्लाका दुःखी, गरिब र विपन्न परिवारलाई सम्झिनु अत्यन्त प्रशंसनीय कार्य हो। समाजमा यस्ता संस्थाको आवश्यकता अझ बढी छ।”.

त्यस्तै सुखिपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देव नारायण यादवले पनि संस्थाप्रति धन्यवाद व्यक्त गरे। उनले विपद्को बेला स्थानीय सरकारसँगै सामाजिक संघसंस्था र प्रवासमा रहेका नेपालीहरूको सहयोगले पीडित परिवारलाई राहत मिल्ने गरेको बताए।

वडा अध्यक्ष यादवले भने, “आगलागीले तीन परिवारको उठिबास भएको थियो। यस्तो अवस्थामा सिरहा सेवा समाज कतारले गरेको सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ। आगामी दिनमा पनि यस्ता मानवीय कार्य निरन्तर रहोस् भन्ने अपेक्षा गर्दछु।”

कार्यक्रममा सियाराम यादव सहित स्थानीय बुद्धिजीवी, गाउँका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। आगलागीबाट प्रभावित परिवारहरूले पनि राहत पाएपछि खुशी व्यक्त गरेका छन्। उनीहरूले अचानक भएको आगलागीले घर, लत्ताकपडा तथा खाद्यान्न सबै जलेर नष्ट भएको अवस्थामा आफूहरू निकै समस्यामा परेको बताए। यस्तो कठिन समयमा सहयोग उपलब्ध गराएको भन्दै उनीहरूले संस्थाप्रति आभार व्यक्त गरेका छन्। सिरहा जिल्लामा पछिल्लो समय विभिन्न सामाजिक तथा मानवीय कार्यमा प्रवासी नेपालीहरूको सक्रियता बढ्दै गएको देखिन्छ। विशेषगरी विपद्, स्वास्थ्य उपचार, शिक्षा तथा गरिब परिवारको सहयोगमा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग जुटाउँदै आएका छन्। त्यसैको निरन्तरतास्वरूप सिरहा सेवा समाज कतार ले पनि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्थानीयवासीले बताएका छन्।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपन्न समुदायको दुःखमा साथ दिने यस्ता संस्थाको सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयको भनाइ छ। आगलागीबाट प्रभावित सदाय परिवारलाई गरिएको सहयोगले मानवीय संवेदनासँगै सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

भालुवाहीको सदाय बस्त ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा न. ११ भालुवाही मा सरकारले ल्याएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१