विनोद अविरल ,सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजार’ स्थित हनुमान मन्दिरले अहिले नयाँ जीवन पाउन थालेको छ । वर्षौँदेखि ओझेलमा परेको र भग्नावशेषमा परिणत हुन लागेको यो आस्थाको केन्द्रलाई पुनर्जीवित गराउन धनगढीमाई नगरपालिका–९ का वडा अध्यक्ष प्रकाश योञ्जनले विशेष सक्रियता देखाउनुभएको हो ।
भौतिक पूर्वाधारको विकासमा आफ्नो वडालाई सधैँ अगाडि राख्ने वडा अध्यक्ष योञ्जनको पहिचान केवल सडक र भवन निर्माणमा मात्र सीमित छैन । धार्मिक र बौद्धिक विचारका धनी योञ्जनले चैनपुरको ऐतिहासिक हनुमान मन्दिरको निर्माण कार्यलाई तीव्रता दिएपछि स्थानीय श्रद्धालुहरूमा खुसी र भरोसाको सञ्चार भएको छ ।
विकासको अर्थ केवल कंक्रिटका संरचना मात्र होइन, बरु पुर्खाको विरासत र सांस्कृतिक पहिचानको संरक्षण पनि हो भन्ने मान्यता योञ्जनले राख्नुहुन्छ । "मन्दिर केवल ढुङ्गा र माटोको संरचना होइन, यो हाम्रो सभ्यता र आस्थाको प्रतिबिम्ब हो," भन्ने भावका साथ उहाँ अहिले आफैँ निर्माण कार्यको अनुगमन र व्यवस्थापनमा खटिनुभएको छ । जीर्ण अवस्थामा पुगेको मन्दिरले काँचुली फेर्न थालेपछि चैनपुरका स्थानीय बासिन्दाहरूले उहाँको यो कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
भौतिक विकाससँगै आध्यात्मिक चेतना र सांस्कृतिक मूल्य मान्यतालाई पनि सँगै लैजानुपर्छ भन्ने उहाँको सोचले समाजमा एक सकारात्मक सन्देश दिएको छ । एक कुशल जनप्रतिधिले चाहेमा विकास र धर्म–संस्कृतिलाई कसरी समन्वय गरेर अगाडि बढाउन सकिन्छ भन्ने कुराको उदाहरण प्रकाश योञ्जनले दिनुभएको छ ।
चैनपुरको हनुमान मन्दिरको पुनर्निर्माणले केवल मन्दिर मात्र ठड्याएको छैन, यसले समाजको हराउँदै गएको सांस्कृतिक गर्वलाई पनि पुनः स्थापना गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic