Siraha Times
ताजा समाचार

प्यारागन पब्लिक स्कूल लहानको ऐतिहासिक सफलता : २०८२ को SEE मा शतप्रतिशत नतिजा अधिकांश विद्यार्थी A+

  • जेठ १, २०८३
  • ४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेष्ठ १ । प्यारागन पब्लिक स्कूल लहानले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्दै सिरहा जिल्लाकै शैक्षिक क्षेत्रमा नयाँ इतिहास रचेको छ। लहान नगरपालिका–३ अस्पताल चौकस्थित उक्त विद्यालयका २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सम्मिलित सम्पूर्ण विद्यार्थीहरूले A+ GPA ल्याउन सफल भएपछि विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसीको माहोल छाएको छ।

विद्यालयका अनुसार यस वर्ष SEE परीक्षामा सहभागीमध्ये १ जना विद्यार्थीले 4.0 GPA प्राप्त गरेका छन् भने ४९ जनाले A+ र ४ जनाले A ग्रेड हासिल गरेका छन्। उत्कृष्ट नतिजापछि विद्यालय परिसरमा खुसीयाली छाएको छ भने अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले यस सफलतालाई विद्यालयको निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षण प्रणालीको प्रतिफलका रूपमा लिएका छन्।

विद्यालयले जिल्लामै उत्कृष्ट तथा गुणस्तरीय शिक्षाको नमुना विद्यालयका रूपमा आफूलाई स्थापित गर्दै गएको छ । विद्यालयका संस्थापक तथा प्रिन्सिपल उमेश चौधरीले सञ्चारकर्मीसँग कुरा गर्दै विद्यालयको सफलताको आधार अनुशासन, गुणस्तरीय शिक्षण प्रणाली र विद्यार्थीप्रतिको निरन्तर समर्पण रहेको बताए । उनले आत्मविश्वासपूर्ण ढंगले भने, “विद्यार्थी हामीलाई दिनुहोस्, राम्रो हामी बनाउँछौं।” उनका अनुसार विद्यालयको उद्देश्य केवल परीक्षामा राम्रो अंक ल्याउनु मात्र नभई विद्यार्थीलाई नैतिक, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्नु हो।

२०६३ सालमा स्थापना भएको विद्यालयले सुरुआती चरणमा केवल पाँच जना विद्यार्थीबाट नेपाली माध्यममा पठनपाठन सुरु गरेको थियो। सीमित स्रोत र साधनबीच सुरु भएको विद्यालय आज आएर सिरहाकै चर्चित, विश्वासिलो र अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित बनेको छ। हाल विद्यालयमा कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ भने करिब १४ सय विद्यार्थी अध्ययनरत रहेका छन्।

यस वर्षको SEE परीक्षामा विद्यालयका सबै विद्यार्थीहरूले उत्कृष्ट GPA हासिल गर्नु विद्यालयको लागि मात्र नभई सम्पूर्ण जिल्लाकै गौरवको विषय बनेको छ। विद्यालय प्रशासनका अनुसार निरन्तर अभ्यास, अतिरिक्त कक्षा, नियमित परीक्षण तथा व्यक्तिगत निगरानीका कारण विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका हुन्।

प्रिन्सिपल उमेश चौधरीका अनुसार विद्यालयको सफलता कुनै संयोग नभई लामो समयदेखिको मेहनत, अनुशासन र योजनाबद्ध शिक्षण प्रणालीको परिणाम हो। उनले भने, “हामी विद्यार्थीलाई किताबको ज्ञान मात्र होइन, जीवन उपयोगी शिक्षा पनि दिइरहेका छौं। प्रत्येक विद्यार्थीभित्र रहेको क्षमता पहिचान गरेर त्यसलाई विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो।”

विद्यालयमा हाल ७० जना अनुभवी शिक्षक–शिक्षिकाहरू कार्यरत रहेका छन्। विषयगत दक्षता भएका शिक्षकमार्फत नियमित कक्षा सञ्चालन गरिनुका साथै कमजोर विद्यार्थीका लागि अतिरिक्त सहयोगात्मक कक्षासमेत सञ्चालन गरिँदै आएको विद्यालय प्रशासनले जनाएको छ। निरन्तर मूल्यांकन प्रणालीमार्फत विद्यार्थीको शैक्षिक अवस्थाको नियमित निगरानी गरिने भएकाले नतिजा प्रभावकारी बनेको विद्यालयको दाबी छ।

विद्यालयले आधुनिक तथा प्रविधिमैत्री शिक्षालाई पनि प्राथमिकता दिएको छ। विद्यालयमा ८० वटा कम्प्युटरसहितको सुविधा सम्पन्न कम्प्युटर ल्याब सञ्चालनमा रहेको छ। सूचना प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई डिजिटल शिक्षासँग जोड्ने प्रयास भइरहेको विद्यालयले जनाएको छ। कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, नियमित अतिरिक्त क्रियाकलाप, खेलकुद तथा अनुशासित वातावरण विद्यालयका मुख्य विशेषताका रूपमा रहेका छन्।

विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू अहिले विभिन्न सरकारी तथा निजी क्षेत्रमा उच्च पदमा कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका पूर्वविद्यार्थीहरू चिकित्सक, इन्जिनियर, शिक्षक, बैंककर्मी तथा प्रशासनिक सेवाजस्ता क्षेत्रमा सक्रिय रहेको बताइएको छ। यसले विद्यालयप्रतिको विश्वास र लोकप्रियता अझ बढाएको अभिभावकहरू बताउँछन्।

अभिभावकहरूका अनुसार विद्यालयले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। एक अभिभावकले भने, “हाम्रो बच्चाको पढाइ, अनुशासन र व्यवहारमा ठूलो परिवर्तन आएको छ। विद्यालयले वास्तवमै गुणस्तरीय शिक्षा दिएको अनुभूति भएको छ।” २०५२ सालदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका शिक्षाविद् उमेश चौधरीले आफ्नो लामो शिक्षण अनुभवलाई विद्यालय व्यवस्थापनमा प्रभावकारी रूपमा प्रयोग गर्दै आएका छन्। तीन दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा बिताएका चौधरी शिक्षालाई व्यवसायभन्दा पनि सेवाको रूपमा लिने गरेको बताउँछन्।

उनका अनुसार आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना रहेको छ। विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सक्षम बनाउने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको उनले जानकारी दिए। सामान्य अवस्थाबाट सुरु भएको प्यारागन पब्लिक स्कूल आज सिरहा जिल्लाको शैक्षिक क्षेत्रमा प्रेरणादायी संस्थाका रूपमा स्थापित हुनु आफैंमा एउटा सफलताको कथा बनेको छ। विद्यालयको निरन्तर प्रगति, अनुशासित वातावरण र उत्कृष्ट नतिजाले आगामी दिनमा अझ धेरै विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा “सदाचार शिक् ...

लहान, जेष्ठ १ । राष्ट्रिय सतर्कता केन्द्र को आयोजनामा “सदाचार शिक्षा एवं सचेतनामूलक” कार ...

“अब सेवा प्रवाह अझ प ...

रहमुल, लहान, ३१ वैशाख । सिरहाको लहान नगरपालिका–९ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन ...

अर्नमा गाउँपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ३१। सिरहाको अर्नमा गाउँपालिका ले ग्रामीण सडक पूर्वाधार सुदृढीकरण अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१