Siraha Times
ताजा समाचार

सीमावर्ती गाउँको विद्यालयले देखायो चमत्कार : एसईई २०८२ मा जागेश्वर गहराई नमुना माविको ऐतिहासिक सफलता

  • वैशाख ३०, २०८३
  • ६८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख ३०। सप्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र तथा नेपाल–भारत दसगज्जासँगै जोडिएको सेहरा रौतहट गाउँस्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय ले फेरि एकपटक आफ्नो गौरवशाली इतिहास पुनर्जीवित गर्न सफल भएको छ। २०२७ सालमा स्थापना भएको यस विद्यालय कुनै समय यस क्षेत्रकै ख्यातिप्राप्त शैक्षिक संस्थाका रूपमा चिनिन्थ्यो। तर समयक्रमसँगै राजनीतिक प्रभाव, विद्यालय प्रशासनभित्र तालमेलको अभाव तथा नेतृत्व संकटका कारण विद्यालयको शैक्षिक अवस्था कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन्।

वर्षौंसम्म ओरालो लागेको विद्यालयको अवस्था देख्दा आफू अत्यन्त दुःखी भएको बताउँदै विद्यालयका प्रधानाध्यापक भोला यादव ले विद्यालय पुनर्जीवन अभियानलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा लिएको बताए। प्रधानाध्यापक यादवले विशेष सम्बोधन गर्दै भने, “यो विद्यालयको अवस्था विगतमा पोलियो रोग लागेको बिरामीजस्तै कमजोर बनेको देख्दा निकै पीडा हुन्थ्यो। तर वर्तमान गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव को विशेष पहल, समुदायको चासो र विद्यालयप्रतिको सकारात्मक सोचका कारण २०८२ साल पुष महिनादेखि मैले यहाँ जिम्मेवारी सम्हाल्ने अवसर पाएँ। आज विद्यालयले प्राप्त गरेको नतिजा हेर्दा मेहनतको प्रतिफल देखिएको महसुस भएको छ।”

उनका अनुसार विद्यालयले यस वर्ष करिब ७० प्रतिशत नतिजा हासिल गर्दै नयाँ आशा र विश्वास जगाएको छ। उनले यो उपलब्धि आफ्नो एकल प्रयास नभई सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको सामूहिक योगदान भएको स्पष्ट पारे। “म मात्र खुशी भएर हुँदैन,” उनले भने, “विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले विद्यार्थीहरूप्रति देखाउनुभएको मेहनत र समर्पणकै कारण आज यो सफलता सम्भव भएको हो।”

प्रधानाध्यापक यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नथुनी दास प्रति पनि विशेष धन्यवाद व्यक्त गरे। उनले विद्यालय सुधार अभियानमा अध्यक्ष यादवले समाज र विद्यालयबीच सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। विद्यालयप्रति विश्वास राखेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। “यो विद्यालयलाई माया गरेर पढिरहेका सम्पूर्ण भाइबहिनीहरूको भविष्य उज्ज्वल बनोस् भन्ने कामना गर्दछु,” उनले भने।

दक्षिणी सीमाक्षेत्रको अत्यन्त विकट मानिने क्षेत्रमा अवस्थित यो विद्यालय पूर्व–पश्चिम हुलाकी सडकबाट करिब दुइ किलोमिटर दक्षिण, भारतीय सीमासँगै जोडिएको सेहरा गाउँमा पर्दछ। भौगोलिक कठिनाइ र सीमित स्रोत–साधनका बाबजुद विद्यालयले प्राप्त गरेको सफलता अहिले स्थानीयवासीका लागि गर्वको विषय बनेको छ। स्थानीय बुद्धिजीवीहरूका अनुसार विद्यालयको पछिल्लो सुधारले सीमावर्ती क्षेत्रका अभिभावक र विद्यार्थीमा नयाँ उत्साह थपिएको छ। उनीहरूले विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षाका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१