Siraha Times
ताजा समाचार

सप्तरीमा रहस्यमय रूपमा बेपत्ता महिला, हत्या भएको आशंका

  • वैशाख २७, २०८३
  • २७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख २७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वनरझुला बाट चार दिनदेखि बेपत्ता भएकी एक महिलाको अवस्था अझै अज्ञात रहेको छ। स्थानीय वीरेन्द्र राय (छोटु) की श्रीमती अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन भएपछि गाउँभर त्रास र चिन्ता फैलिएको छ। 

घटनापछि परिवार तथा स्थानीयवासीले महिलाको हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। घरआँगनमा रगत देखिएको र घरभित्रको अवस्था शंकास्पद भेटिएकाले घटना सामान्य नभएको स्थानीयहरूको भनाइ छ।स्थानीय जनप्रतिनिधि ललनप्रसाद राउतले महिला अझैसम्म फेला नपर्नु र घरआँगनमा रगत देखिनुले गम्भीर घटना भएको संकेत गरेको बताए। उनले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

स्थानीयका अनुसार अनिताको घरमा यसअघि पनि पटक–पटक खसी, बोका, चामल तथा गहुँ चोरी हुने घटना हुँदै आएको थियो। यसले पनि घटनालाई थप रहस्यमय बनाएको स्थानीयको भनाइ छ। छिमेकी शेखर रायका छोराको विवाहमा गाउँका अधिकांश मानिस जन्ती गएको मौका छोपेर राति केही व्यक्तिले जबरजस्ती महिलालाई उठाएर लगेको हुन सक्ने पीडित परिवारको आशंका छ। घटना भएको रात अनिता घरमा एक्लै रहेको बताइएको छ।

बेपत्ता महिलाका बाबु प्रितम रायका अनुसार अनिताका दुई छोरी छन्। जेठी छोरी सपनाको विवाह भइसकेको छ भने १३ वर्षीया कान्छी छोरी काजल पनि विवाहमा जन्ती गएकी थिइन्। श्रीमान् वैदेशिक रोजगारीमा रहेका कारण अनिता घरमा एक्लै बस्दै आएकी थिइन्। “यही मौका छोपेर कसैले अपहरण गरेको हुन सक्छ,” उनले भने।

स्थानीय कविता रायका अनुसार घटनाको रात घरमा बलेको चिमसमेत निभाइएको अवस्थामा भेटिएको थियो। यसले पनि घटना योजनाबद्ध हुन सक्ने अनुमान गरिएको छ। महिलाका ससुराको निधन भइसकेको छ भने सासू चितवनको नारायणघाटमा छोरीसँग बस्दै आएकी छन्।

घटनाको जानकारी पाएलगत्तै परिवार, आफन्त तथा स्थानीयवासीले व्यापक खोजतलास गरेका थिए। तर हालसम्म महिलाको कुनै अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय राजविराज तथा इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरी ले घटनाबारे जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरिएको बताए। उनका अनुसार महिलाको मोबाइल घरमै भेटिएकाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने पीडित परिवारले महिलाको यथाशीघ्र खोजी तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

किशोर किशोरी तथा मात ...

ओम प्रकाश यादव लहान लहान, वैशाख २७ । प्लान नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहा ...

८ वर्षदेखि अलपत्र सड ...

ओम प्रकाश यादव राजविराज, वैशाख २६ । राजविराज नगरपालिका वडा नं. १ अन्तर्गत चनौरा रामपुर ढोल क्षेत्रमा ...

१ कार्यदिनमै कम्पनी ...

काठमाडौं वैशाख २६ । नेपालमा कम्पनी दर्ता तथा खारेजी प्रक्रियामा ठूलो सुधार गरिएको छ। कम्पनी रजिष्ट्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१