ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ एकदिवसीय कृषि तथा पोषण मेला प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। हिजो चैत्र २८ गते आयोजना गरिएको उक्त कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा सञ्चालन गरिएको थियो ।
“Nurture Every Future: Poshan Nepal” अभियान अन्तर्गत care iDE को सहकार्यमा आयोजना गरिएको यस मेलाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा रहेका भूमिहीन, गरिब तथा अति विपन्न वर्गका किसान दिदीबहिनीहरुलाई कृषि मार्फत आय आर्जन तथा जीवनयापनमा सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। विशेषगरी महिलाहरुलाई आत्मनिर्भर बनाउने र पोषणयुक्त उत्पादनमा जोड दिने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले कृषि क्षेत्रलाई स्थानीय आर्थिक विकासको मेरुदण्डको रूपमा लिनुपर्नेमा जोड दिँदै किसानहरुलाई आधुनिक प्रविधि, बीउबिजन तथा तालिम उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले यस्ता मेलाले किसानहरुको उत्साह वृद्धि गर्नुका साथै उत्पादनलाई बजारसँग जोड्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
यसैगरी वडा अध्यक्ष राम कुमार यादवले गाउँपालिकाभित्र रहेका किसानहरुलाई संगठित गरी उनीहरुको उत्पादन क्षमतालाई वृद्धि गर्न आवश्यक रहेको बताए। उनले महिलाहरुको सक्रिय सहभागिताले गाउँको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे। राष्ट्रिय कृषक समूह महासंघ, नेपालका पालिका अध्यक्ष राम चन्द्र यादवले महासंघले किसानहरुको हकहितका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले किसानलाई सशक्त बनाउने बताए। उपाध्यक्ष चानो देवी रामले महिलाहरुको सहभागिता उत्साहजनक रहेको बताउँदै उनीहरुलाई थप सीप र अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइन्।
कार्यक्रममा महासंघका सचिव जामुन प्रसाद यादव, पोषण परियोजना प्रमुख सावन कुमार यादव तथा परियोजनाकी प्रतिनिधि आंचल खडका लगायतले कृषि र पोषणबीचको सम्बन्धलाई स्पष्ट पार्दै पोषणयुक्त खाद्य उत्पादनमा जोड दिनुपर्ने बताए। उनीहरुले स्थानीय स्तरमा उत्पादन भएका अन्न, तरकारी तथा फलफूलले परिवारको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्यामउने धारणा राखे।
बलान बिहुल गाउँपालिका कृषि शाखाका प्रतिनिधि लक्ष्मी नारायण यादवले किसानहरुलाई आवश्यक प्राविधिक सहयोग तथा तालिम उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, जैविक खेती र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। मेलामा सहभागी किसान दिदीबहिनीहरुले आफूले उत्पादन गरेका विभिन्न कृषि उपजहरू—जस्तै तरकारी, अन्नबाली, फलफूल तथा घरेलु उत्पादन—प्रदर्शनमा राखेका थिए। ती उत्पादनहरूको गुणस्तर, मौलिकता तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन समेत गरिएको थियो। उत्कृष्ट उत्पादन गर्ने किसानहरुलाई सम्मानित गर्ने कार्यक्रमले सहभागिहरुमा थप उत्साह जगाएको देखिन्थ्यो।
कार्यक्रममा सहभागी किसानहरुले यस्ता मेलाले आफूहरुलाई आफ्नो उत्पादन प्रदर्शन गर्ने अवसर मिलेको, नयाँ ज्ञान हासिल गर्ने मौका प्राप्त भएको तथा अन्य किसानसँग अनुभव साटासाट गर्न सहज भएको बताएका थिए। विशेषगरी महिलाहरुले घरायसी कामसँगै कृषि पेशाबाट आय आर्जन गर्न सकिने विश्वास व्यक्त गरेका थिए।
समग्रमा, कृषि तथा पोषण मेला प्रदर्शनीले स्थानीय स्तरमा कृषि प्रवर्द्धन, महिला सशक्तीकरण तथा पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्याणएको आयोजक पक्षले जनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक रूपमा सञ्चालन गर्ने योजना समेत प्रस्तुत गरिएको छ।
प्रतिक्रिया दिनुहोस
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic