रहमुल, लहान १७ चैत्र । जलवायु परिवर्तनका बढ्दो चुनौतीसँग जुध्दै दिगो कृषि प्रणाली विकास र किसान सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन भइरहेको “जलवायु मैत्री गाउँ परियोजना–२०८२” अन्तर्गत लहानमा दुई दिने प्रगति समीक्षा तथा योजना निर्माण कार्यशाला सम्पन्न भएको छ।
चैत १६ र १७ गते सम्पन्न उक्त कार्यशालामा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, कृषि शाखा प्रमुख, कृषक समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विगत केही वर्षदेखि सञ्चालनमा रहेका गतिविधिहरूको समीक्षा गर्दै आगामी रणनीति तय गरिएको थियो।
कार्यक्रममा भगवानपुर गाउँपालिकाका कृषि शाखा प्रमुख बलबिन्द्र कुमार यादवले सिरहा जिल्लामै पहिलो पटक करार खेती (Contract Farming) सुरु गरिएको जानकारी दिँदै भूमिहीन किसानलाई लक्षित कार्यक्रम प्रभावकारी रहेको बताए। उनका अनुसार गोठ सुधार, झोल मल प्रयोग, रासायनिक विषादी न्यूनीकरण तथा सुधारिएको चुलो जस्ता कार्यक्रमले सकारात्मक परिणाम दिएको छ।
त्यस्तै सखुवानान्कारकट्टी गाउँपालिकाका कृषि शाखा प्रमुख हरि नारायण यादवले गोठ व्यवस्थापन र वातावरणमैत्री अभ्यासहरूले कृषकको जीवनस्तर सुधारमा ठोस योगदान पुर्याएको उल्लेख गरे। लक्ष्मीपुरपतारी गाउँपालिकाका कृषि शाखा प्रमुख चतुरानन्द चौधरीका अनुसार जैविक तथा गड्यौला मल प्रयोग, सोलार सिँचाइ, तरकारी खेती विस्तार, सरस्वती खोलाको संरक्षण र वृक्षारोपणजस्ता कार्यक्रमले कृषकको आम्दानी वृद्धि र बचतमा टेवा पुगेको छ।
सप्तरीको रुपनी गाउँपालिकाका कृषि शाखा प्रमुख ओम सागर यादवले करार खेती, जलवायु उत्थानशील कार्यक्रम तथा महिलामैत्री कृषि औजार वितरणले किसानलाई थप सशक्त बनाएको बताए। अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा पछिल्लो दुई वर्षमा ८७ वटा कृषक समूह गठन भई टनेल खेती, गाईपालन, सोलार सिँचाइ तथा नदी नियन्त्रणका लागि जाली प्रविधि प्रयोग जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको जानकारी दिइयो।
राष्ट्रिय कृषक समूह महासंघ नेपालले CARE Nepal को आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा किसानको जीवनस्तर रूपान्तरण र सबलीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ। परियोजनाअन्तर्गत सिरहा र सप्तरीका ६ वटा पालिकामा उल्लेखनीय प्रगति हासिल भएको परियोजनाकी प्रतिनिधि निभा साक्यले जानकारी दिइन्।
कार्यक्रममा केयर नेपालका प्रतिनिधि केदार कोइरालाले जलवायु मैत्री गाउँ परियोजना अस्ट्रेलिया सरकारको सहयोगमा नेपालमा ४ वर्षे कार्यक्रमका रूपमा सञ्चालन भइरहेको बताए। महासंघका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठका अनुसार यस परियोजनामार्फत सिरहा–सप्तरीका ४० गाउँका ५ सय कृषक समूहमार्फत करिब १२०० घरधुरी लाभान्वित भएका छन्। उनले उब्जाउ जमिनमा अर्गानिक तत्वको कमी हुँदै गएको उल्लेख गर्दै जैविक विधिबाट खेतीपाती गर्न किसानलाई आग्रह गरे।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाकी उपप्रमुख तथा कार्यवाहक अध्यक्ष कल्पना चौधरी र सिरहाको धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता चौधरीले परियोजनाले विशेषगरी महिला समूहलाई सक्रिय बनाएको, माटो सुधार, रोजगारी सिर्जना तथा समय बचतमा योगदान पुर्याएको बताउँदै यस्ता कार्यक्रमलाई स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागीहरूले मापदण्ड विपरीत रासायनिक विषादीको प्रयोगले “खेत र पेट” दुवैमा नकारात्मक असर पारेको भन्दै जैविक तथा वातावरणमैत्री कृषि अभ्यासलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
महासंघका मधेस प्रदेश कार्यालय प्रमुख दिलीप साहले कृषिमा क्रान्ति ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै लैङ्गिक समानता, समावेशीकरण, उत्थानशील कृषि, कृषक पाठशाला, विपद् व्यवस्थापन तथा जैविक प्रविधिको प्रयोगजस्ता कार्यक्रममार्फत किसान सशक्तीकरणमा महासंघ अघि बढिरहेको जानकारी दिए।
समग्रमा, जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको सन्दर्भमा सिरहा र सप्तरीमा सञ्चालन भएका यस्ता कार्यक्रमहरूले दिगो कृषि प्रणाली विकास, वातावरण संरक्षण तथा किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको देखिएको छ। आगामी दिनमा यस्ता पहललाई अझ व्यापक र दीगो बनाउनुपर्नेमा सहभागीहरूको जोड रहेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic