Siraha Times
ताजा समाचार

मलहनियाँमा वडा नं. १ को कार्यालय भवन समुद्घाटन, स्थानीय सेवा प्रवाहमा सहजता आउने अपेक्षा

  • चैत १३, २०८२
  • ६२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत १३। सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १, मलहनियाँमा नव–निर्मित वडा कार्यालय भवनको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ। गाउँकार्यपालिकाको कार्यालय मलहनियाँमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय तहबाट प्रदान गरिने सेवामा सहजता र प्रभावकारिता आउने विश्वास गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादवले गर्नुभएको थियो। उहाँले आफ्नो अध्यक्षीय मन्तव्यमा नयाँ भवन निर्माणसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरू अझ व्यवस्थित, छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीयवासीलाई अब सेवा लिन सहज हुने बताउँदै विकास निर्माणका थप योजनाहरू पनि अघि बढाइने जानकारी दिनुभयो।

समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खेम चन्द्र यादव रहनुभएको थियो। उहाँले भवन उद्घाटन गर्दै स्थानीय तहको सुदृढीकरणका लागि यस्ता पूर्वाधार अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले वडा स्तरमै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको बताउनुभयो।

विशिष्ट अतिथिहरूमा गाउँपालिका उपाध्यक्ष रेणु यादव, उमेश पासमान, देवु राम, अम्बिका कुमारी दास, सरस्वती कुमारी यादव, सन्तोष कुमार साह तथा सकलदेव मण्डलको उपस्थिति रहेको थियो। अतिथिहरूले पनि शुभकामना मन्तव्य राख्दै नयाँ भवनले स्थानीय प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरेका थिए।

नयाँ वडा कार्यालय भवन निर्माणका लागि कुल लागत ७१ लाख ६७ हजार ९४५ रुपैयाँ अनुमान गरिएको थियो भने सम्झौता रकम ४५ लाख ८६ हजार १६६ रुपैयाँमा सम्पन्न भएको जनाइएको छ। निर्माण कार्यका लागि २०८२ साल वैशाख २१ गते सम्झौता भएको थियो र २०८२ साल माघ २१ गते सम्पन्न गरिएको हो।

उक्त भवन निर्माणको जिम्मा सफलता इन्जिनियरिंग कन्सल्टेन्ट, सखुवानन्कारकट्टी–४, सिरहाले लिएको थियो। निर्माण कम्पनीले निर्धारित समयमै काम सम्पन्न गरेकोमा कार्यक्रममा प्रशंसा गरिएको थियो।

स्थानीय बासिन्दाहरूले नयाँ भवन निर्माण भएपछि नागरिकता, सिफारिस, सामाजिक सुरक्षा लगायतका सेवाहरू लिन सहज हुने बताएका छन्। यसले वडा कार्यालयको कार्यक्षमता वृद्धि गर्ने मात्र नभई सेवाग्राहीको सन्तुष्टि पनि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१