Siraha Times
ताजा समाचार

बलात्कारपछि हत्या भएका बालिकाहरूको घटनामा कारबाही माग्दै सरकारको ध्यानाकर्षण

  • चैत २, २०८२
  • ५७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान लहान, २ चैत्र। सप्तरी र सुर्खेतमा भएका दुई फरक–फरक नाबालिका बलात्कार तथा हत्या घटनामा अझैसम्म ठोस अनुसन्धान र दोषीमाथि कारबाही नभएको भन्दै विभिन्न बाल तथा युवा संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सरकारलाई दबाब दिन प्रदेश बाल सञ्जाल मधेस प्रदेश, जिल्ला बाल सञ्जाल सप्तरी, जेन जी सप्तरी, बाल क्लबका पूर्व सदस्यहरू तथा विभिन्न युवा क्लबहरू ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

संगठनहरूले बुझाएको ज्ञापनपत्रमा करिब एक वर्ष पुग्न लाग्दा पनि सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने १७ वर्षीया पूजा कुमारी रामको बलात्कारपछि हत्या भएको घटनामा अझैसम्म निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन नसकेको गुनासो गरिएको छ। पीडित परिवारले न्याय नपाएको तथा दोषी पहिचान र कारबाहीको प्रक्रिया स्पष्ट नदेखिएको भन्दै उक्त घटनामा तत्काल गम्भीर छानबिन गर्न सरकारसँग माग गरिएको छ।

उक्त घटनाअनुसार २०८२ साल बैशाख १ गते राति सुरुङ्गा नगरपालिका–७ की १७ वर्षीया पूजा कुमारी राममाथि बलात्कारपछि हत्या गरिएको थियो। घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा ठूलो आक्रोश उत्पन्न भएको थियो। तर समय बित्दै जाँदा अनुसन्धान प्रक्रिया सुस्त देखिएको र दोषीलाई कानुनी कठघरामा ल्याउन नसकिएको भन्दै सरोकारवाला संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

यसैगरी, २०८२ साल फाल्गुन २३ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकमाथि सामूहिक बलात्कारपछि हत्या भएको घटनाले पनि देशभरि नै ध्यानाकर्षण गराएको थियो। सो घटनामा पनि प्रभावकारी अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग उठ्दै आएको छ। तर हालसम्म ठोस नतिजा सार्वजनिक नभएको भन्दै बाल अधिकारकर्मी तथा युवा संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन्।

ज्ञापनपत्र बुझाउँदै संगठनका प्रतिनिधिहरूले बालिकामाथि हुने यस्ता जघन्य अपराधले समाजलाई नै असुरक्षित बनाएको बताएका छन्। उनीहरूले न्याय प्रक्रियामा ढिलाइ हुँदा पीडित परिवार थप पीडामा परेको र समाजमा दण्डहीनताको अवस्था झनै बढ्न सक्ने चेतावनी दिएका छन्।

बाल अधिकारकर्मीहरूले सरकारले बालिकामाथि हुने यौन हिंसा तथा हत्या जस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार यस्ता अपराधमा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाही नगरेसम्म समाजमा यस्ता घटना दोहोरिने सम्भावना रहिरहन्छ। त्यसैले राज्यले छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको जोड छ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार बालबालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्या जस्ता अपराध नियन्त्रण गर्न सरकारले विशेष रणनीति अपनाउनुपर्ने माग पनि गरिएको छ। साथै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षात्मक व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले उक्त मागलाई सम्बन्धित निकायसम्म पुर्या>उने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बालबालिकामाथि हुने हिंसा तथा अपराधप्रति प्रशासन पनि संवेदनशील रहेको बताउँदै कानुनी प्रक्रिया अनुसार अनुसन्धान र कारबाही अघि बढ्ने बताएका छन्।

कार्यक्रममा विभिन्न बाल सञ्जाल, युवा क्लब तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पीडित बालिकाहरूका लागि न्याय सुनिश्चित गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिलाउन सके मात्र पीडित परिवारले न्याय पाउने र समाजमा दण्डहीनताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। साथै बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले स्पष्ट नीति, प्रभावकारी अनुसन्धान र द्रुत न्याय प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१