सिरहामा आँपका बगैँचामा ढकमक्क मञ्जरी, किसानमा उत्पादन बढ्ने आशा

  • फागुन २८, २०८२
  • २४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन्। विशेषगरी धनगढीमाई नगरपालिका–१३ ढुङ्गा टोलका आँपका बगैँचामा प्रशस्त मञ्जरी लागेपछि स्थानीय किसानहरू यस वर्ष राम्रो उत्पादन हुने आशामा उत्साहित भएका छन्।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटहरूमा धेरै मञ्जरी लागेको देखिएको छ। यसले गर्दा उत्पादन बढ्ने सम्भावना रहेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्। किसानहरू पनि बोटको स्याहार–सम्भार तथा आवश्यक औषधि छर्ने काममा व्यस्त देखिन्छन्।

कृषि ज्ञान केन्द्र सिरहाका अनुसार जिल्लाभर करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ। अधिकांश बोटमा राम्रो मञ्जरी देखिएकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष बिराएर फल्ने भएकाले यस वर्ष फल्ने चक्रमा परेको कारण बोटमा अत्यधिक मञ्जरी लागेको हो।

उनले भने, “आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ, जसले यस वर्ष उत्पादन बढ्ने संकेत गरेको छ। मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ।”

उनका अनुसार मञ्जरी सुरक्षित राख्न किसानहरूले एक पटक औषधि छरिसकेका छन्। अब चिचिला लाग्न थालेपछि पुनः औषधि छर्ने तयारी भइरहेको छ। जिल्लाका १७ वटै स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर किसानहरूलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उनले बताए।

सिरहामा विशेषगरी पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा ठूलो क्षेत्रफलमा आँपखेती हुने गरेको छ। पछिल्लो समय आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित हुँदै गएका छन्।

धनगढीमाई नगरपालिका–१३ का किसान रामनारायण यादवले यस वर्ष आँपबाट राम्रो उत्पादन हुने अपेक्षा रहेको बताए।

उनले भने, “बगैँचामा यस वर्ष धेरै मञ्जरी लागेको छ। समय–समयमा औषधि छर्ने र बोटको स्याहार–सम्भार गर्ने काम गरिरहेका छौँ। मौसम अनुकूल रहे राम्रो उत्पादन हुने आशा छ।”

स्थानीय कृषि प्राविधिकका अनुसार हालसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग देखिएको छैन। यसले पनि उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसैबीच कृषि ज्ञान केन्द्र सिरहाले यस वर्ष उत्पादन हुने आँपलाई ‘ब्रान्डिङ’ गरी बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ। किसानको उत्पादनलाई उचित बजार उपलब्ध गराउने उद्देश्यले विभिन्न कार्यक्रममार्फत सहजीकरण गरिने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

लहानमा ग्यास सिलिन्ड ...

लहान, २७ फागुन । २०८२ साल फागुन २४ गते सिरहा जिल्लाको लाहान नगर क्षेत्रमा एक अत्यन्तै निन्दनीय र दुः ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१