लहान नगरपालिकामा निःशुल्क ट्युसन कक्षा सञ्चालन: गरिब तथा दलित बालबालिकाका लागि शिक्षामा नयाँ आशा

  • फागुन ११, २०८२
  • १०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ११ फागुन । सिरहाको लहान नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण पहल गर्दै गरिब तथा दलित समुदायका बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको यस कार्यक्रमले शिक्षामा समान पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ सम्भावनाको ढोका खोलेको बताइएको छ। नगर प्रमुख महेश चौधरीका अनुसार शिक्षा नै विकासको आधार भएकाले नगरवासी प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्ने उद्देश्यसहित यो कार्यक्रम अघि बढाइएको हो।

उहाँले भन्नुभयो, “निर्वाचन जितेपछि धेरै गरिब तथा दलित परिवारका अभिभावकहरू आफ्ना गुनासा लिएर मसँग आउनुभयो। उहाँहरूको पीडा थियो—सम्पन्न परिवारका बालबालिका निजी विद्यालयमा अंग्रेजी माध्यममा पढिरहेका छन्, तर हामीसँग त कापी–कलम किन्नेसम्म पैसा छैन। सरकारी विद्यालय पठाउने हिम्मतसमेत छैन। त्यसैले मेयरले अभिभावकको भूमिका निर्वाह गरी हाम्रा बालबालिकाको भविष्यबारे सोचिदिनुपर्‍यो।”

यही माग र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले सरकारी विद्यालयहरूमा क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको, कापी–कलम निःशुल्क वितरण व्यवस्था मिलाएको र अतिरिक्त निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याएको मेयर चौधरीले जानकारी दिनुभयो। सरकारी विद्यालयमा सुधारको लागी नगर प्रमुख चौधरीका अनुसार हाल नगरभित्रका सम्पूर्ण सरकारी विद्यालयहरूमा भौतिक पूर्वाधार सुदृढ गरिएको छ।

“एक कक्षा–एक पंखा” अभियानअन्तर्गत प्रत्येक कक्षाकोठामा पंखा जडान गरिएको, आवश्यक फर्निचरको व्यवस्था गरिएको तथा रिक्त शिक्षक पदहरू पूर्ति गरिएको उहाँले बताउनुभयो। विद्यालयहरूलाई व्यवस्थित र आकर्षक बनाउन कक्षाकोठा मर्मत, रंगरोगन, शौचालय सुधार र सुरक्षित खानेपानीको व्यवस्थासमेत गरिएको जनाइएको छ। लक्षित वर्गमा उत्साह बढाउन निःशुल्क ट्युसन कक्षाले विशेषगरी आर्थिक रूपमा विपन्न तथा दलित समुदायका बालबालिकामा उत्साह थपेको स्थानीय अभिभावकहरूको भनाइ छ।

अतिरिक्त कक्षाबाट कमजोर विद्यार्थीहरूलाई आधारभूत विषयमा सुदृढ बनाउने र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ। शिक्षालाई उच्च प्राथमिकतामा राख्दै अघि बढाइएको यस कार्यक्रमले लहान नगरभित्र शैक्षिक वातावरण सुधारसँगै सामाजिक समानताको आधार बलियो बनाउने अपेक्षा गरिएको छ। नगर प्रमुख चौधरीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस

मधेसको पहिचान जोगाउन ...

उमेश कुमार साह बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) न ...

कांग्रेसका नेता–कार् ...

रहमुल, सिरहा १० फाल्गुन । आगामी निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समी ...

प्रहरी प्रधान र मधेश ...

रंजित चौरसिया,वीरगंज १० फागुन । केही हप्ता पहिला मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी प्रध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१