लहानमा अभिभावक दिवस २०८२ भव्य रूपमा सम्पन्न

  • फागुन ३, २०८२
  • ४३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,फाल्गुन ३ । लहान नमुना इङ्लिस बोर्डिङ स्कुल (लहान–४) र नेशनल एकेडमी (लहान–५) को संयुक्त आयोजनामा अभिभावक दिवस २०८२ आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम विद्यालय परिसरमा उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता हाफिज साकिर हुसैन कस्मीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख अमिरी कुमार यादवको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा विद्यालयकी संस्थापक नजमा तवस्सुम, शिक्षा शाखा समितिका सदस्य राजकुमार सिंह तथा मनोज कुमार यादव रहनुभएको थियो।

त्यसैगरी कार्यक्रममा मा.वि. इन्चार्ज तथा प्राध्यापक शम्भु राई, मो. सम्मिउल्लाह, गीता कुमारी यादव, निलम कुमारी यादव, उपेन्द्र यादव, प्रमेश राम, सुर्या लाइफ इन्सुरेन्स लहानका म्यानेजर सुरेश साह, पूर्व विद्यार्थी इफ्ति हसन राइन लगायत अभिभावक, सञ्चारकर्मी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। स्वागत मन्तव्य मो. सम्मिउल्लाहले व्यक्त गर्दै विद्यालयको शैक्षिक प्रगति, अनुशासन र समग्र विकासका गतिविधिबारे जानकारी गराउनुभयो।

उहाँले अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमिरी कुमार यादवले गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावकबीच समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो। उहाँले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै नैतिक शिक्षा र सामाजिक जिम्मेवारीबोध पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

अध्यक्षीय मन्तव्यका क्रममा हाफिज सकिर हुसैन कस्मीले शिक्षा समाज परिवर्तनको आधार स्तम्भ भएको बताउनुभयो। उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै चरित्र निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा बोल्दै प्राध्यापक शम्भु राईले “शिक्षा भनेको केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई जीवन जिउने कला हो” भन्ने विचार व्यक्त गर्नुभयो।

उहाँले शिक्षाको वास्तविक अर्थ विद्यार्थीको सोच, व्यवहार र जिम्मेवारीबोधमा परिवर्तन ल्याउनु भएको बताउँदै समग्र व्यक्तित्व विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा नाटक प्रस्तुत गरेका थिए। प्रस्तुति हेर्न उपस्थित अभिभावकहरू उत्साहित देखिन्थे। कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रदर्शनका साथै अभिभावक र विद्यालयबीच आत्मीय सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

यसै अवसरमा विद्यालयका पूर्व विद्यार्थी इफ्ति हसन राइनलाई सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयले उहाँको शैक्षिक तथा सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ। सम्मान ग्रहण गर्दै राइनले विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै आफूले प्राप्त गरेको शिक्षाले जीवनमा अघि बढ्न प्रेरणा दिएको बताउनुभयो।

समग्रमा, अभिभावक दिवस २०८२ ले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षाको गुणस्तर अभिवृद्धिमा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१