रहमुल लहान २५ । नियमित एच.पि.भी (HPV) खोप सञ्चालन, पूर्णखोप सुनिश्चितता तथा कार्यक्रमको दिगोपना सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम नवराजपुर गाउँपालिकामा सम्पन्न भएको छ। स्वास्थ्य शाखा प्रमुख संजीव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शिव उदगार यादव तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष पुनम यादवको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्पूर्ण वडा अध्यक्षहरू, सबै वडाका स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पाठेघरको क्यान्सरको प्रमुख कारणका रूपमा रहेको ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमण र त्यसको रोकथामका लागि एच.पि.भी खोपको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई समयमै HPV खोप लगाउन सके पाठेघरको क्यान्सरको जोखिम अत्यन्तै न्यून गर्न सकिने विषयमा जोड दिइयो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शिव उदगार यादवले HPV खोप महिलाको दीर्घकालीन स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको कार्यक्रम भएको उल्लेख गर्दै भने, “पाठेघरको क्यान्सर जस्तो ज्यान लिने रोगबाट छोरीहरूलाई जोगाउने सबैभन्दा प्रभावकारी उपाय HPV खोप हो। यसलाई सफल बनाउन पालिकाले आवश्यक बजेट, जनशक्ति र संस्थागत समन्वयमा कुनै कसर बाँकी राख्ने छैन बताए।
त्यसैगरी उपाध्यक्ष पुनम यादवले महिला र बालिकाको स्वास्थ्य सुदृढीकरणमा HPV खोप निर्णायक हुने बताउँदै भनिन्, “खोपबारे अझै पनि समुदायमा भ्रम र जानकारीको कमी छ। विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकबीच व्यापक सचेतना फैलाएर लक्षित सबै किशोरीसम्म खोप पुर्याउनु आजको आवश्यकता हो बताइन्।
अध्यक्षता ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख संजीव यादवले नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउँदै पूर्णखोप सुनिश्चितता र दीगो प्रणाली विकासका लागि स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले अभियानलाई सफल बनाउन सबै स्वास्थ्यकर्मी तथा सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई आ–आफ्नो क्षेत्रबाट HPV खोप अभियानलाई सफल बनाउन प्रतिबद्धता जनाउन आग्रह गरिएको थियो। यसैबीच, भोली २६ माघदेखि अभियानकै रूपमा HPV खोप सञ्चालन हुने भएकाले लक्षित समूहका किशोरीहरूलाई नजिकको माध्यमिक विद्यालय वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic