जिसस प्रमुखको अध्यक्षतामा एचपीभी खोप अभियान अभिमुखीकरण सम्पन्न

  • माघ २३, २०८२
  • २५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, २३ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण बैठक आज जिल्ला समन्वय समिति (जि.स.स.) प्रमुखको कार्यकक्ष, सिरहामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा खोप अभियानलाई प्रभावकारी र व्यापक बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा एचपीभी खोपको आवश्यकता, यसले प्रदान गर्ने दीर्घकालीन स्वास्थ्य सुरक्षा, खोपको सुरक्षित प्रयोग, लक्षित समूह पहिचान तथा अभियान कार्यान्वयनका चरणहरूबारे प्राविधिक प्रस्तुति समेत गरिएको थियो। स्वास्थ्यकर्मीहरूले एचपीभी भाइरसका कारण भविष्यमा हुन सक्ने गम्भीर रोगहरूको जोखिम कम गर्न यो खोप महत्वपूर्ण रहेको जानकारी गराएका थिए। विशेषगरी किशोरी लक्षित यस खोप अभियानले पाठेघरको मुखको क्यान्सरजस्ता रोगको जोखिम न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा “खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ, पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल सन्देशलाई प्राथमिकताका साथ अघि सारिएको थियो। सहभागी सञ्चारकर्मीहरूलाई अभियानका क्रममा सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा भ्रम निवारणमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले खोपसम्बन्धी अफवाह र गलत सूचनाले अभियान प्रभावित हुन सक्ने भएकाले तथ्यमा आधारित समाचार र सूचना सम्प्रेषण आवश्यक रहेको औंल्याए। 

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा जि.स.स. उप–प्रमुख दिलिप लामा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी युगल किशोर यादव, प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुरेन्द्र पौडेल, जि.स.सि अधिकारी शेर बहादुर भण्डारी, अमर नाथ साह लगायत विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

अभिमुखीकरण क्रममा वक्ताहरूले एचपीभी खोपबारे समुदायमा अझै पर्याप्त जानकारी नपुगेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय, अभिभावक समूह तथा सञ्चार माध्यमबीच समन्वय आवश्यक रहेको बताएका थिए। विद्यालय तहबाटै सचेतना कार्यक्रम सञ्चालन गर्न सके खोप अभियानको पहुँच र प्रभावकारिता बढ्ने धारणा राखिएको थियो। साथै, खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरियो।

कार्यक्रम समापन गर्दै अध्यक्ष महतोले एचपीभी खोप अभियान अत्यन्तै महत्वपूर्ण र समयसापेक्ष स्वास्थ्य कार्यक्रम भएको बताउनुभयो। उहाँले यस अभियानलाई सफल बनाउन व्यापक प्रचार–प्रसार अपरिहार्य रहेको उल्लेख गर्दै सबै निकायले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो। “यो अभियान केवल स्वास्थ्य क्षेत्रको मात्र होइन, समाजकै भविष्यसँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो, “सही सूचना, सही समय र सही समूहसम्म पुर्‍याउन सके अभियान प्रभावकारी बन्छ।”

उहाँले सञ्चारकर्मीहरूलाई जनस्तरसम्म विश्वासिलो सन्देश पुर्‍याउन आग्रह गर्दै सकारात्मक र तथ्यपरक समाचारले जनविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहका संरचना र संयन्त्रलाई सक्रिय बनाएर घरदैलो स्तरसम्म जानकारी पुर्‍याउनुपर्नेमा समेत जोड दिइयो 

स्वास्थ्य कार्यालय सिरहाले एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क उपलब्ध रहेको स्पष्ट पार्दै लक्षित समूहका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ। कार्यालयले अभियान अवधिभर आवश्यक प्राविधिक सहयोग, अनुगमन र समन्वयलाई निरन्तरता दिने जनाएको छ। अभियान सफल पार्न समुदाय, सञ्चार क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

पर्सा–२ मा अजय चौरसि ...

रंजित चौरसिया, वीरगंज २२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार अ ...

नेपाली कांग्रेसका उम ...

रहमुल, सप्तरी २२ माघ सप्तरी निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी यतिब ...

पर्सागढी–३ झावराहामा ...

रोशन कुमार,वीरगंज २२ माघ । नेकपा एमाले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१