Siraha Times
ताजा समाचार

लहानका थारु बस्तीमा माघी महोत्सवको रौनक, संस्कृति, परम्परा र विकास घोषणाको संगम

  • माघ १, २०८२
  • ८५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरपालिकाका विभिन्न वडामा माघी महोत्सव उत्साहपूर्वक सुरु भएको छ। लहान–९ खुट्टी पारीस्थित लहानगोठ, लहान–१२ थारु टोल पडरिया, लहान–१५ बानो, लहान–२२ बर्छावा लगायत थारु समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा माघी पर्व विशेष कार्यक्रमसहित मनाइँदै छ।

आजदेखि दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम, परम्परागत नाच–गान, भेषभूषा प्रदर्शन तथा नगर परिक्रमा समावेश गरिएको छ। नगर परिक्रमासहित सुरु भएको महोत्सवले थारु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति र सामूहिक उत्सवको उल्लासलाई जीवन्त रूपमा प्रस्तुत गरिरहेको छ। विभिन्न वडामा आयोजना गरिएका महोत्सव उद्घाटन कार्यक्रमहरूमा सम्बन्धित वडा अध्यक्षहरूको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा लहान नगरपालिकाका मेयर महेश चौधरी सहभागी भएका थिए। उद्घाटनका अवसरमा प्रत्येक वडाले अतिथिहरूलाई तिला सङ्क्रान्तिको विशेष प्रसाद ग्रहण गराई सम्मान गरेको थियो।

महोत्सवको अवसरलाई उपयोग गर्दै स्थानीय जनप्रतिनिधिहरूले विकासका सवालमा मेयरको ध्यानाकर्षण गराएका छन्। वडा नं. ९ का अध्यक्ष घुरन थारुले पोखरीको डिलमा रहेको जिर्ण भवनको पुनर्निर्माण कार्य सम्पन्न गराउन मेयर चौधरीको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी, लहान–१२ पडरिया थारुटोलमा केही हप्तादेखि सञ्चालनमा आएको हाट बजारलाई व्यवस्थित गर्न मेयर चौधरीले महत्वपूर्ण घोषणा गरेका छन्।

थारु समुदायको परम्परागत खानपिनलाई व्यापारिक रूपमा प्रवर्द्धन गर्ने, शौचालय निर्माण गर्ने तथा मंगलबार र शनिबार गरी हप्तामा दुई दिन हाट बजार सञ्चालनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिने घोषणापछि स्थानीयवासीहरूले मेयरको जयजयकार गरेका थिए। महोत्सवकै मञ्चबाट अर्को महत्वपूर्ण पूर्वाधार विकासको प्रतिबद्धता पनि व्यक्त गरिएको छ। लहान–१५ बानो गाउँमा बानो नदीमा पुल नहुँदा होमस्टे पर्यटन प्रभावित भएको उल्लेख गर्दै मेयर चौधरीले पुल निर्माणका लागि थप ३५ लाख रुपैयाँ बजेट दिने र छिट्टै पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएपछि स्थानीयवासी हर्षित बनेका थिए। 

माघी पर्वको अवसरमा थारु महिलाहरू परम्परागत परिकार बनाउन व्यस्त देखिन्छन्। चामलको पिठोबाट बनाइने ‘ढिक्री’, अनदीको जाँड, रोटी तथा माछाका विभिन्न परिकारहरू घरघरमा तयार भइरहेका छन्। गाउँका अगुवाको घरमा भेला भई वर्षभरिको योजना बनाउने, आपसी समझदारी गर्ने र सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक एकता र सहकार्यलाई अझ मजबुत बनाएको छ। सिरहाको लहान र धनगढीमाई नगर क्षेत्रमा थारु समुदायको उल्लेख्य उपस्थिति रहेकाले एक साताअघिदेखि नै माघी मेलाको तयारी सुरु गरिएको थियो। वानोगाउँ, गोठटोल, पडरिया र बर्छवाजस्ता स्थानमा माघी मेलाको विशेष रौनक देखिन थालेको छ। 

थारु कल्याणकारिणी सभाका जिल्ला सभापति सत्यनारायण चौधरीका अनुसार माघी केवल खानपिनमा सीमित पर्व होइन। उनले भने, “आफ्नै मौलिक भेषभूषा, थारु भाषाका गीत–नाच र परिकारहरूको स्वाद नै माघीको वास्तविक सुन्दरता हो। यसले हाम्रो भाषा, संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्न मद्दत गर्छ।” उता, धनगढीमाई नगरपालिकामा ‘तेस्रो जिल्लास्तरीय तिला सङ्क्रान्ति उत्सव–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको नगर संयोजक शम्भू चौधरीले जानकारी दिए। स्थानीय जानकार अनिल चौधरीका अनुसार माघीको अघिल्लो रात आगोको धुनी बालेर ताप्ने, भोलिपल्ट बिहान नदी वा खोलामा स्नान गर्ने, घरका मान्यजनलाई ढोग गर्ने र ‘खिचडी’ दान गर्ने परम्पराले यस पर्वलाई अझ पवित्र र अर्थपूर्ण बनाएको छ। वेशभूषा, नाचगान, खानपिन र विकासका घोषणाको संगम बनेको माघी महोत्सवले अहिले सिरहाका थारु बस्तीहरूलाई पूर्ण रूपमा उत्सवमय बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१