लहान नगरपालिकाद्वारा दलित तथा विपन्न बस्तीमा न्यानो कम्बल वितरण

  • पुस १३, २०८२
  • ८८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । जाडोबाट सबैभन्दा बढी प्रभावित हुने दलित, मुसहर तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिन नगरपालिकाले न्यानो कम्बल वितरण थालेको हो ।

यसैक्रममा शनिबार लहान नगरपालिकाले वडा नम्बर १५ स्थित बानो टोलका २८ जना विपन्न मुसहर परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । त्यस्तै वडा नम्बर २४ का ८५ जना दलित तथा विपन्न नागरिकलाई पनि कम्बल प्रदान गरिएको छ । चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नगरपालिकाबाट प्राप्त न्यानो कम्बलले राहत मिलेको स्थानीयवासीहरूले बताएका छन् ।

नगर प्रमुख महेशप्रसाद चौधरीले यस वर्षको जाडो मौसममा नगरका सबै वडामा गरी पाँच सयभन्दा बढी कम्बल वितरण गर्ने योजना रहेको जानकारी दिए । “जाडोको समयमा दलित, विपन्न र गरिब समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन्,” मेयर चौधरीले भने, “नगरपालिकाको दायित्व भनेकै यस्ता समुदायलाई समयमै राहत पुर्‍याउनु हो । त्यसैले सबै वडामा आवश्यकताको आधारमा कम्बल वितरण गरिनेछ ।”

उनका अनुसार नगरपालिकाले वडास्तरमै तथ्यांक संकलन गरी वास्तविक रूपमा आवश्यक पर्ने परिवारलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिरहेको छ । यसले राहत सामग्री दुरुपयोग नहोस् र सही व्यक्तिसम्म पुगोस् भन्ने उद्देश्य लिएको छ । कम्बल वितरणसँगै नगरपालिकाले सर्वसाधारण तथा बटुवालाई लक्षित गरी सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था पनि मिलाएको छ । चिसो अत्यधिक बढेकाले बिहान र साँझको समयमा चोक, बजार क्षेत्र तथा मानिसहरूको बढी आवतजावत हुने स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख चौधरीका अनुसार गाउँ तथा बजारका मुख्य स्थान, बसपार्क, चोक र भिडभाड हुने क्षेत्रहरूमा यस्तो व्यवस्था गरिएको हो । “विशेष गरी वृद्धवृद्धा, बालबालिका, मजदुर र बटुवाहरूलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा आगो बाल्ने व्यवस्था गरिएको छ,” उनले बताए ।

स्थानीयवासीहरूले नगरपालिकाको यस पहलको स्वागत गरेका छन् । चिसो मौसममा न्यानो कपडा र आगो ताप्ने व्यवस्था गरिदिँदा स्वास्थ्य समस्याबाट जोगिन सहयोग पुगेको उनीहरूको भनाइ छ । विशेष गरी दैनिक ज्यालादारी मजदुर र घरबारविहीन बटुवाका लागि यो व्यवस्था निकै उपयोगी बनेको छ ।

नगरपालिकाले आगामी दिनमा पनि चिसोको अवस्था हेरेर राहत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै, आवश्यक परे थप न्यानो कपडा तथा अन्य सहयोग सामग्री वितरण गरिने मेयर चौधरीले जानकारी दिए । चिसोबाट कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यसहित नगरपालिकाले सामाजिक उत्तरदायित्व वहन गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

महेन्द्र गेनाई प्राद ...

रहमुल, सिरहा २२ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका–११, छपरारी बजारको उत्तरतर्फ अवस्थित महेन्द् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१