 
                        
                                        
                    रासिन्द्र यादव सप्तरी कात्तिक १४ । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमिक विद्यालयमा लामो प्रतीक्षापछि विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ। विगत १० वर्षदेखि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) बिना सञ्चालन हुँदै आएको उक्त विद्यालयमा बिहिबार सम्पन्न निर्वाचनबाट नयाँ अध्यक्षसहितको समिति गठन भएको हो।
निर्वाचन प्रक्रियामार्फत रामकुमार साह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी भएका छन्। उहाँले आफ्ना प्रतिद्वन्द्वी मनोज कुमार चौधरी, बसन्त राम, ललिता देवी साह, र सरस्वती कुमारी यादवलाई पराजित गर्दै उल्लेखनीय मतान्तरका साथ जित हासिल गर्नुभएको हो । कुल ६८५ मतदातामध्ये ५५६ मत खसेका थिए, जसमा रामकुमार साहले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १०२ मत बढी प्राप्त गरी विजयी हुन् सफल भएका हुन्।
निर्वाचनमा उत्साहपूर्वक स्थानीय अभिभावक, शिक्षक तथा समुदायको सहभागिता रहेको थियो। मतदान प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक गजेन्द्रले बताइएको छ। विजयी भएपछि अध्यक्ष साहले हाजिरिमा नियन्त्रण गर्ने,१५ -१५ दिनमा सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई परिक्षाद्वारा प्रोत्साहन गरि व्यवस्थापन गर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थी अनुशासन, र भौतिक पूर्वाधार विकासमा आफू समर्पित रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यालयलाई समुदायमै उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य समेत सार्वजनिक गर्नुभयो।
नवनिर्वाचित समितिमा श्रवण कुमार मण्डल, अञ्चला कुमारी मण्डल, श्याम कुमार राम सदस्यका रूपमा निर्वाचित भएका छन्। स्थानीय अभिभावक तथा समुदायले नयाँ समितिप्रति विद्यालय सुधार र पारदर्शी व्यवस्थापनका लागि आशा व्यक्त गरेका छन्। विद्यालयका पूर्वकार्यवाहक शिक्षकहरूले पनि अब नियमित समितिको गठनपछि विद्यालयमा निर्णय प्रक्रिया सहज हुने, शिक्षण–अधिगम सुधारमा गति आउने, र शिक्षक–अभिभावकबीच समन्वय मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
यसअघि दशकौँसम्म अध्यक्षविहीन समितिका कारण विद्यालयका प्रशासनिक कार्य, बजेट स्वीकृति र विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका थिएनन्। अब नयाँ नेतृत्व चयनसँगै विद्यालयको समग्र प्रगति र विद्यार्थी हितका लागि सशक्त पहल हुने अपेक्षा गरिएको छ विद्यालयका प्रधानाध्यापक रबिन्द्र चौधरीले बताए ।
निर्वाचन अधिकृत खडक नगरपालिकाका शिक्षा शाखा प्रमुख बिरेन्द्र कुमार यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा विद्यालय परिवारलाई बधाई दिँदै नयाँ समितिलाई विद्यालयको शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा अग्रसर रहन आग्रह गरेका छन्।यो विजयसँगै श्री राजाजी तुलसीलाल जोनछे जनता माध्यमिक विद्यालय शिस्वाबेलहीले नयाँ युगको सुरुवात गरेको छ जहाँ विद्यालय र समुदायको साझेदारीले स्थानीय शिक्षामा नयाँ ऊर्जा र दिशा ल्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic