Siraha Times
ताजा समाचार

जेन्जी आन्दोलनका सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाबाट राहत, शिक्षा र रोजगारीको व्यवस्था

  • असोज ३, २०८२
  • ६९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ३ असोज । जेन्जी आन्दोलनमा प्राण गुमाएका लहान नगरपालिका–१५ का विजय चौधरीको परिवारलाई लहान नगरकार्यपालिकाले राहत, शिक्षा तथा रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको छ। सोमबार नगरप्रमुख महेश चौधरीले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।

नगरपालिकाले गरेको निर्णयअनुसार चौधरीको परिवारलाई तत्कालका लागि आर्थिक राहतस्वरूप एक लाख रुपैयाँ सहयोग गर्ने, उनका बालबालिकाले कक्षा १२ सम्म नि:शुल्क शिक्षा हासिल गर्न सक्ने व्यवस्था गर्ने र उनकी पत्नीलाई योग्यता अनुसार नगरपालिकाभित्र रोजगारी दिने व्यवस्था गर्ने घोषणा गरिएको छ।

मेयर चौधरीले सहिद परिवारप्रति नगरपालिकाको जिम्मेवारी र दायित्वबोध गर्दै यस्तो निर्णय गरिएको स्पष्ट पारे। “नगरपालिका नागरिकको सुखदुःखमा साथ दिन प्रतिबद्ध छ। विशेष गरी आन्दोलनका क्रममा जीवन गुमाउने नागरिकको परिवारलाई उपेक्षा गर्ने हाम्रो संस्कार छैन। विजय चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारलाई सहयोग गर्ने निर्णय गरेका हौं,” उनले भने।

साथै, पत्रकार सम्मेलनमा मेयर चौधरीले जेन्जी आन्दोलनले ल्याएको चेतना र यसको प्रभावलाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको उल्लेख गरे। उनका अनुसार आन्दोलनले उठाएका मुद्दा र मागलाई सम्बोधन गर्दै नगरपालिका जनताको पक्षमा ठोस कदम चाल्न तयार छ।

नगरपालिकाको निर्णयलाई सहिद चौधरीका परिवारले राहतको रूपमा स्वागत गरेका छन्। परिवारजनले तत्कालीन आर्थिक तथा सामाजिक संकटबाट केही हदसम्म राहत पाउने अपेक्षा गरेका छन्। स्थानीयवासीहरूले पनि नगरपालिकाले गरेको निर्णयलाई सकारात्मक भन्दै सहिदका परिवारलाई थप दीर्घकालीन सहयोगका कार्यक्रम ल्याउन सुझाव दिएका छन्।

जेन्जी आन्दोलनका क्रममा सिरहा, विशेष गरी लहान क्षेत्रमा जनसागर उर्लिएको थियो। आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा तोडफोड, प्रदर्शन र झडप भएका थिए। त्यही क्रममा लहान–१५ निवासी विजय चौधरीले ज्यान गुमाएका थिए।

नगरपालिकाले चौधरीको बलिदानलाई ऐतिहासिक रुपमा सम्झनुपर्ने बताउँदै आगामी दिनमा सहिद स्मृति कार्यक्रम गर्ने योजना समेत अघि सारेको छ। “सहिदहरूको योगदानलाई हामी नगरको इतिहासमा दर्ज गर्नेछौं। उहाँहरूको बलिदानले नयाँ पुस्तालाई संघर्ष र हक अधिकारका लागि लड्न प्रेरणा दिनेछ,” मेयर चौधरीले थपे।

यसअघि पनि लहान नगरपालिकाले विभिन्न विपत्, दुर्घटना र सामाजिक संकटमा परेका नागरिकलाई सहयोग गर्ने निर्णयहरू गर्दै आएको छ। यस पटक सहिद चौधरीको परिवारलाई गरिएको सहयोगलाई नगरवासीहरूले स्थानीय सरकारको संवेदनशीलता र जनउत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन्।

नगरपालिकाले गरेका यी निर्णयले जेन्जी आन्दोलनमा आहत अन्य परिवारलाई पनि आशाको किरण जगाएको छ। आन्दोलनमा घाइते भएकाहरूको उपचारमा सहजीकरण गर्ने र पीडित परिवारलाई सहयोग पुर्‍याउने काममा पनि नगरपालिका सक्रिय हुने प्रतिवद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

चौतारो संरक्षणका लाग ...

​सिराहा, २५ जेठ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ ठटियास्थित सरे खोलाको किनारमा रहेको ...

अत्यन्तै विपन्न अवस् ...

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक ...

भगवानपुरको विकासका ल ...

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१