ताजा समाचार

सुखीपुरमा १९ करोड १५ लाखको लागतमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा, गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा

  • असोज २२, २०८३
  • २५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण भएको १५ शय्याको आधारभूत नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनमा आएसँगै सुखीपुरसहित आसपासका करिब आधा दर्जन पालिकाका सयौँ नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवा पाउने भएका छन्।

अस्पताल उद्घाटन समारोह नगर प्रमुख राम औतार यादवको अध्यक्षता तथा मधेस प्रदेशका पूर्वस्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। करिब ४२ हजार जनसंख्या रहेको सुखीपुर नगरपालिकाले अस्पताललाई जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने तयारी गरेको जनाएको छ। अस्पतालमा एमडी, एमबीबीएस चिकित्सकसहित करिब ४० जना स्वास्थ्यकर्मी कार्यरत रहेको नगरपालिकाले जनाएको छ।

अस्पतालमा ओपीडी, जनरल फिजिसियन, विशेषज्ञ चिकित्सकीय सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रिया, मातृ तथा शिशु स्वास्थ्य सेवा तथा आकस्मिकलगायतका स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। स्थानीयस्तरमै यी सेवा उपलब्ध हुन थालेपछि सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

आधारभूत नगर अस्पताल निर्माण र सञ्चालनका लागि स्थानीय जग्गादाताहरूको महत्वपूर्ण योगदान रहेको छ। स्वर्गीय राम आशिष सुडी, स्वर्गीय केशव चौधरी, लक्ष्मण चौधरी, उमा प्रसाद चौधरी, श्याम चौधरी, ओमप्रकाश चौधरी, जयप्रकाश चौधरी, वीरेन्द्र चौधरी, महेश चौधरीलगायत चौधरी परिवारले गरी २१ कठ्ठा १ धुर जग्गा अस्पतालका लागि दान गरेका छन्।

May be an image of one or more people, temple, dais and text

नगरपालिकाका अनुसार उक्त जग्गाको अनुमानित मूल्य करिब रु. १.५ करोड रहेको छ। स्थानीयको जग्गादान, संघीय सरकारको लगानी र नगरपालिकाको व्यवस्थापनबाट सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको हो। अस्पताल सञ्चालनमा आउनु सुखीपुरका नागरिकका लागि महत्वपूर्ण उपलब्धि भए पनि नयाँ भवन निर्माण मात्र पर्याप्त नहुने स्वास्थ्य क्षेत्रका जानकारहरूको धारणा छ। अस्पतालको प्रभावकारिता गुणस्तरीय, नियमित र सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रवाहबाट मापन हुने भएकाले दक्ष जनशक्ति, आवश्यक औषधि, आधुनिक उपकरण र प्रभावकारी व्यवस्थापनमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता छ।

May be an image of one or more people

विशेषगरी विपन्न, असहाय, अपांगता भएका तथा आर्थिक रूपमा कमजोर नागरिकले सहज रूपमा उपचार पाउने वातावरण बनाउन अस्पतालले प्राथमिकता दिनुपर्ने देखिन्छ। त्यस्तै, वडास्तरबाट अस्पतालसम्म प्रभावकारी रेफरल प्रणाली तथा एम्बुलेन्स सेवा व्यवस्थापन गर्न सके आकस्मिक र जटिल अवस्थाका बिरामीलाई समयमै उपचार केन्द्रसम्म पुर्‍याउन सहज हुनेछ।

May be an image of one or more people

अस्पतालको सफलताको महत्वपूर्ण सूचक मातृ तथा शिशु स्वास्थ्य सेवाको विस्तार पनि हुने देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा संस्थाबाट ८० जना महिलाले प्रसूति सेवा लिएको तथ्यांक रहेको छ। अब नयाँ भवन, जनशक्ति र पूर्वाधारको उपयोग गर्दै चालु आर्थिक वर्षमा लक्षित जनसंख्याको करिब ६० प्रतिशत अर्थात् ६ सय जनालाई प्रसूति सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यसका लागि नियमित गर्भजाँच, सुरक्षित संस्थागत प्रसूति, पोषण परामर्श, सुत्केरीपछिको स्वास्थ्य निगरानी तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ। संस्थागत प्रसूति सेवा बढाउन सके मातृ तथा शिशु स्वास्थ्य सुधारसँगै अस्पतालको सेवा उपयोगसमेत उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people

त्यसैगरी सामान्य चोटपटक तथा माइनर सर्जरी सेवा स्थानीयस्तरमै प्रभावकारी रूपमा सञ्चालन गर्न सके बिरामीले जिल्ला वा प्रदेश अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम हुनेछ। यसले नागरिकको समय र उपचार खर्च दुवै घटाउन सहयोग पुग्नेछ। सुखीपुर आधारभूत नगर अस्पतालको प्राविधिक क्षमता अभिवृद्धि गर्न स्वास्थ्य कार्यालय, वानहार्ट वल्डवाइड, निक साइमन इन्स्टिच्युट र आसमान नेपाललगायतका संस्थाले प्राविधिक उपकरण तथा सीप हस्तान्तरणमा सहकार्य गर्दै आएको जनाइएको छ। यस्तो सहकार्यलाई निरन्तरता दिँदै अस्पतालको प्राविधिक तथा स्वास्थ्य सेवा क्षमता थप सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ।

May be an image of one or more people, people studying and hospital

अस्पताललाई जिल्लाकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य पूरा गर्न अब भवन र पूर्वाधारसँगै दक्ष जनशक्ति, नियमित औषधि आपूर्ति, आवश्यक उपकरण, विशेषज्ञ सेवा, सुरक्षित प्रसूति, सामान्य शल्यक्रिया र प्रभावकारी रेफरल प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। स्थानीय नागरिकको लामो समयदेखिको स्वास्थ्य सेवासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सञ्चालनमा आएको सुखीपुर आधारभूत नगर अस्पतालले आगामी दिनमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सिरहाको स्वास्थ्य सम ...

रहमुल, लहान, २२ असोज । आर्थिक वर्ष २०८२/०८३ मा सिरहा जिल्लाभर सञ्चालन तथा सम्पन्न गरिएका स्वास्थ्यसम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤