ओम प्रकाश यादव, लहान, असोज २१ । मधेश प्रदेश सरकारको ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले लहान नगरपालिका–१० स्थित आफ्नै भवनमा सञ्चालन हुँदै आएको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलाई सिरहा सदरमुकाम सार्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेस लहान नगर कार्यसमितिले कडा आपत्ति जनाएको छ। नेपाली कांग्रेस लहान नगर कार्यसमितिका नगर सभापति उमेश कुमार चौधरीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालय स्थानान्तरणको निर्णयप्रति आश्चर्य तथा स्तब्धता व्यक्त गरेका हुन्।
लहान–१० स्थित आफ्नै भवनमा रहेको उक्त कार्यालयले स्थापनाकालदेखि नै सिरहा, सप्तरी तथा उदयपुर जिल्लाका किसानलाई सिंचाईसम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। हालसमेत कार्यालयले सिरहाका किसानलाई आवश्यक सेवा प्रदान गर्दै आएको अवस्थामा आफ्नै भवनमा सञ्चालित कार्यालयलाई सिरहा सदरमुकाम सार्नुको कुनै औचित्य नरहेको कांग्रेस लहानको दाबी छ।
किसानलाई सिंचाईसम्बन्धी सेवा लिन कार्यालयसम्म पुग्न सहज हुने भएकाले लहानमा रहेको कार्यालयलाई अन्यत्र सार्दा सेवा प्रवाह प्रभावकारी हुनुको सट्टा किसानलाई थप कठिनाइ हुने कांग्रेसको भनाइ छ। कार्यालय स्थानान्तरणले किसानको सिंचाई सुविधामा प्रत्यक्ष असर पर्न सक्ने र त्यसको प्रभाव उनीहरूको कृषि उत्पादन तथा जनजीविकामा समेत पर्ने नगर समितिले जनाएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “लहानमा आफ्नै भवनमा सञ्चालित यस कार्यालयलाई सिरहा सदरमुकाममा सार्ने कुनै कारण र औचित्यता देखिँदैन। कार्यालय अन्यत्र सारिँदा किसानलाई सजिलो होइन, झन् अफ्ठ्यारो पर्ने देखिन्छ।” किसानलाई सिंचाई सेवामा कुनै पनि किसिमको असहजता सिर्जना हुने अवस्था नेपाली कांग्रेस लहान नगर समिति चुपचाप सहेर नबस्ने चेतावनीसमेत दिइएको छ।
नेपाली कांग्रेस लहान नगर समितिले मधेश सरकारसमक्ष लहानबाट भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय अन्यत्र सार्ने निर्णय अविलम्ब फिर्ता लिन माग गरेको छ। निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मधेश सरकार, सम्बन्धित मन्त्रालय तथा पदाधिकारीहरूले नै वहन गर्नुपर्ने चेतावनी नगर सभापति उमेश कुमार चौधरीद्वारा जारी विज्ञप्तिमा दिइएको छ। कांग्रेस लहानले किसानको हित, सहज सेवा पहुँच तथा सिंचाई सुविधालाई प्राथमिकतामा राख्दै कार्यालय लहानमै यथावत् राखी सञ्चालन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved