ताजा समाचार

भगवानपुरमा पालिकास्तरीय किशोरी अधिकार मञ्चको समीक्षा बैठक सम्पन्न

  • असोज २३, २०८३
  • ३३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किशोरी अधिकार मञ्चको समीक्षा बैठक सम्पन्न भएको छ। किशोरी तथा बालबालिकाको अधिकार संरक्षण, बालविवाह न्यूनीकरण, नेतृत्व विकास र समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

भगवानपुर गाउँपालिका–१ स्थित बालासुन्दरी माध्यमिक विद्यालयमा आयोजित बैठकको अध्यक्षता रोशनी कुमारीले गरेकी थिइन्। कार्यक्रममा भगवानपुर गाउँपालिका–२ का वडाध्यक्ष सूर्यनारायण यादव प्रमुख अतिथि तथा सबल नेपालका फिल्ड कार्यान्वयन अधिकृत अशोक कुमार साह विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा किशोरी मञ्चका प्रतिनिधि, बालबालिका तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बैठकमा किशोरी अधिकार मञ्चले हालसम्म सञ्चालन गरेका गतिविधि, हासिल भएका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी योजनाका विषयमा समीक्षा र छलफल गरिएको थियो।

बैठकमा प्रस्तुत उपलब्धिअनुसार किशोरी तथा बालबालिकाहरूले आफ्ना समस्या, विचार र आवश्यकता सम्बन्धित निकाय तथा सरोकारवालासमक्ष राख्न सक्ने क्षमता विकास गरेका छन्। बालविवाहसम्बन्धी विषयमा समुदायमा जनचेतना अभिवृद्धि भएको र बालबालिकाले उठाएका विभिन्न प्रश्नको जवाफ सरोकारवालाहरूले सहज रूपमा दिएको जनाइएको छ।

त्यसैगरी, प्लास्टिकजन्य तथा कुहिने फोहोरको उचित व्यवस्थापन, जैविक मल निर्माण र वातावरण संरक्षणसम्बन्धी व्यावहारिक जानकारीसमेत प्राप्त भएको बैठकमा उल्लेख गरिएको थियो। मञ्चले समुदायमा देखिएका समस्या पहिचान गर्ने, विभिन्न योजनाबारे छलफल गर्ने र किशोरी तथा बालबालिकाका सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले प्रत्येक महिना नियमित बैठक सञ्चालन गर्दै आएको छ।

उन्नति परियोजनाअन्तर्गत मञ्चले हालसम्म सरोकारवालासँग अन्तरक्रिया, बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम, नेतृत्व विकाससम्बन्धी तालिम तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

त्यस्तै, प्रत्येक महिना नियमित बैठक सञ्चालन गर्नुका साथै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। लैङ्गिक समानता तथा तर्कशक्तिसम्बन्धी विषयमा समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो। यी गतिविधिले किशोरी तथा बालबालिकामा नेतृत्व क्षमता विकास गर्न, आफ्ना अधिकारबारे जानकारी हासिल गर्न र सामाजिक समस्याविरुद्ध आवाज उठाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।

मञ्चका गतिविधि सञ्चालनका क्रममा बजेटको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ। त्यस्तै, किशोरीहरू तालिम तथा क्षमता विकासका कार्यक्रमका लागि समुदायबाहिर जाँदा समाजमा अनावश्यक टीकाटिप्पणी हुने गरेको समस्यासमेत बैठकमा उठाइएको थियो। यस्ता समस्याको समाधानका लागि सम्बन्धित वडा कार्यालय, गाउँपालिका तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिएको जनाइएको छ। किशोरीहरूलाई तालिम तथा कार्यक्रममा सहभागी गराउँदा संस्थाका कर्मचारीले अभिभावकसँग आवश्यक सहमति लिने व्यवस्था गरेकाले घरपरिवारमा समस्या नआएको आयोजक पक्षले जनाएको छ।

बैठकमा आगामी दिनमा किशोरी तथा बालबालिकाको सहभागिता थप प्रभावकारी बनाउने, उनीहरूका समस्या र आवश्यकताबारे नियमित छलफल गर्ने तथा स्थानीय तहसँगको समन्वयलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो। कार्यक्रमको सहयोग केयर नेपालले गरेको थियो भने बालासुन्दरी माध्यमिक विद्यालय तथा पालिकास्तरीय किशोरी मञ्चले समन्वय गरेका थिए। कार्यक्रमको आयोजक सबल नेपाल र केयर नेपाल रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤