Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिकामा "बालश्रम मुक्त समाज निर्माण" सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • फागुन ६, २०८१
  • ६८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,लहान फागुन ६ । सुरुङ्गा नगरपालिका वडा नं. ८, मलहनमामा "बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका" विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम वडा बाल अधिकार समितिको आयोजनामा तथा सुरुङ्गा नगरपालिका वडा नं. ८ को सहयोग एवं सवल नेपाल तथा सेभ द चिल्ड्रेन, राजविराज, सप्तरीको समन्वय र सहकार्यमा सम्पन्न भएको हो।

वडा अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुरुंगा नगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत शुनिल कुमार पासमान रहेका थिए भने विशिष्ट अतिथिका रूपमा शिक्षा शाखा प्रमुख हिरालाल राना सवल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डलको उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

बालश्रम न्यूनीकरण तथा बाल अधिकार संरक्षणको महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा नगरका विभिन्न विद्यालयका छात्र-छात्राहरूले उत्साहपूर्वक भाग लिएका थिए। निर्णायक मण्डलमा शिक्षा अधिकृत धन बहादुर पुलामी, स्रोत व्यक्ति भोगेन्द्र कुमार यादव, र सवल नेपालका फिल्ड संयोजक डिकुरा पोखरेल रहेका थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सौभाग्य जनमावि शिशुवारीकी छात्रा शिक्षा कुमारी थापाले पाउन सफल भइन् भने दोस्रो स्थानमा जनता मावि, भेडियाकी छात्रा दीपा इसरले रहिन्। विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि शुनिल कुमार पासमानले प्रमाणपत्र, स्टेशनरी सामग्री, ज्यामिती बक्स, बलपेन तथा एक-एक थान डिक्सनरी प्रदान गरेर सम्मानित गरेका थिए।

कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत प्रमुख अतिथि शुनिल कुमार पासमानले बालश्रम मुक्त समाज निर्माणका लागि शिक्षाको अभूतपूर्व भूमिका रहेको बताए। उनले बालबालिकाहरूलाई शिक्षामा प्रेरित गर्नुपर्ने तथा गरिबी निवारण र बाल अधिकार संरक्षणका लागि स्थानीय सरकार तथा विभिन्न संघसंस्थाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

वडा अध्यक्ष श्याम प्रसाद साहले आफ्नो मन्तव्य राख्दै बालश्रम समाजका लागि एक गम्भीर चुनौती भएको बताए। उनले बालश्रम न्यूनीकरणका लागि स्थानीय तहले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी कदम चालिने बताए।

सवल नेपालका फिल्ड म्यानेजर रोशन कुमार मण्डलले बालश्रम हटाउन सरकारी निकाय, अभिभावक, विद्यालय तथा गैरसरकारी संस्थाहरूको संयुक्त प्रयास अनिवार्य रहेकोमा जोड दिए। उनले बालश्रम मुक्त समाज निर्माणका लागि शिक्षा, कानुनी प्रबन्ध तथा सचेतना कार्यक्रमहरूको प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अन्त्यमा वडा बाल अधिकार समितिका सदस्यहरूले बालश्रम उन्मूलनका लागि समर्पित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र स्थानीय समुदायले समेत यस विषयमा जागरूक हुनुपर्ने कुरा व्यक्त गरे। विद्यार्थीहरूले बालश्रमको कारण, प्रभाव तथा समाधानका उपायहरूबारे प्रभावशाली रूपमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रम औपचारिक रूपमा समापन गर्दै आयोजक समितिले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यो।

प्रतिक्रिया दिनुहोस

सशक्त महिला, समृद्ध ...

रहमुल लहान, १९ जेठ । सिरहाको नवराजपुर गाउँपालिकाको सभा हलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समा ...

सिप सिक्दै ग्रामीण म ...

नविन चौधरी लहान, जेष्ठ १९ । सखुवानान्कारकट्टी गाउँपालिका वडा नं २ निवासी बिमला चौधरीलाइ खेतिपाती बाह ...

भारततर्फ तस्करी गर्न ...

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१