Siraha Times
ताजा समाचार

नारायणगढ-बुटवल सडक खण्ड : घाम लाग्दा धुलामे र पानी पर्दा हिलामे

  • असार ११, २०८०
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ११ । नारायणगढ-बुटवल सडक खण्ड घाम लाग्दा धुलोले ढपक्कै ढाकिन्छ । पानी पर्नासाथ सडक हिलो र चिप्लो हुन्छ । चार लेनमा विस्तार भइरहेको यो सडक खण्डमा यात्रा गर्ने यात्रुलाई न घाम लाग्दा सुख छ न पानी पर्दा । दिनहुँ हजारौँ गाडी ओहोरदोहोर गर्ने यो सडक खण्डमा यात्रा गर्नेहरुले निक्कै सास्ती भोग्नु परेको छ । यो सडकको कावासोतीदेखि दाउन्नेसम्मको खण्डमा पुल निर्माण नहुँदा डाइभर्सन मार्फत गाडी ओहोदोहोर भइरहेका छन् । यहाँ पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था छ । डाइभर्सन निर्माण गरिएको ठाउँमा रातोमाटो हुँदा पानी पर्नासाथ चिप्लो भएर गाडी चलाउन समस्या हुने गरेकाे छ ।

यो सडकको निर्माणको जिम्मा पाएको चाइना स्ट्रेट कर्पोरेशनले भने वर्षा शुरु हुनुपूर्व धेरै ठाउँका पुल निर्माण सम्पन्न गरी डाइभर्सनबाट यात्रा गर्नुपर्ने अवस्था अत्य गर्ने दाबी गरेको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार केही दिनभित्रमा निर्माण सम्पन्न भएका पुलहरू सञ्चालन गर्ने गरी काम गरिएको छ । पानी पर्दा राजमार्ग बन्द नहोस् भनेर सम्भावित ठाउँमा कामलाई तीव्रता दिइएको उहाँको दाबी छ । १ सय १४ किलोमिटर लम्बाईको यो सडकको पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई योजनाअन्तर्गत काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेशनलाई जिम्मा दिइएको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको छ । पछिल्लो पटक आउँदो भदौसम्मका लागि म्याद थप गरिएको छ । यस अवधिमा आयोजनाको करिब ५० प्रतिशत काम मात्रै सम्पन्न हुने अवस्था छ ।

झाका अनुसार नवलपुर खण्डमा अहिलेसम्म दुवैतर्फ गरी जम्मा १४ किलोमिटर कालोपत्रको काम सकिएको छ । अहिले कावासोती - डण्डा क्षेत्रमा कालोपत्र गर्ने योजना अनुसार काम अघि बढिरहेको छ । विद्युतको पोल तथा ट्रान्सफर्मर हटाउन ढिला हुँदा बजार क्षेत्रको कामलाई छिटो गर्न समस्या भएको उहाँले बताउनुभयो । ’राजमार्ग क्षेत्रमा ट्रान्सफर्मर हटाउन तालिका मिलिरहेको छैन, बिदाको दिनमा मात्रै लाइन काटी काम गर्नुपर्ने अवस्था छ , यसले कामलाई अल्झाएको छ’ झाले भन्नुभयो । नारायणगढ - बुटवल सडक विस्तार आयोजना विसं २०७५ सालदेखि भइरहेको छ ।

अहिलेसम्म पूर्वी खण्डमा जम्मा ३८ दशमलव ५९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा सडकको निर्माणको आयोजना अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१