ताजा समाचार

रासायनिक विषादीको अव्यवस्थित प्रयोगले सिरहाको माटो ‘बिरामी’ बन्दै, वैज्ञानिक खेतीमा जोड

  • असोज १६, २०८३
  • ३५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी तथा कृषि सामग्रीको अव्यवस्थित प्रयोग, गुणस्तरहीन बीउ–मल, सिँचाइको अभाव र प्राविधिक ज्ञानको कमीका कारण माटोको स्वास्थ्यमा चुनौती थपिँदै गएको बाली संरक्षण प्रयोगशाला सिरहाका बाली संरक्षण अधिकृत कोमल रिजालले बताएका छन्।

हालै भएको छलफलका क्रममा रिजालले सिरहाको माटो अधिकांश प्रकारका बाली उत्पादनका लागि उपयुक्त रहे पनि माटोबाट निरन्तर उत्पादन लिने तर त्यसको स्वास्थ्य संरक्षण र सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्ति देखिएको बताए। “माटोबाट लिने काम मात्रै भइरहेको छ, तर माटोलाई पनि उपचार र संरक्षण आवश्यक हुन्छ,” रिजालले भने। उनका अनुसार समयमै माटोको स्वास्थ्य सुधार तथा संरक्षणमा ध्यान दिन नसके भविष्यमा कृषि उत्पादन र खाद्य सुरक्षामै चुनौती थपिन सक्छ।

रिजालका अनुसार रोग तथा कीरा नियन्त्रणका नाममा आवश्यकता भन्दा बढी वा मापदण्डविपरीत रासायनिक विषादी प्रयोग गर्दा माटोको प्राकृतिक गुणमा असर पर्न सक्छ। त्यसैले बालीमा समस्या देखिना साथ आफूखुसी विषादी प्रयोग गर्नेभन्दा पहिले रोग वा कीराको सही पहिचान गर्न आवश्यक रहेको उनले बताए। किसानले खेतमा रहेका मित्रजीव र शत्रुजीव छुट्याउन, रोग तथा कीराको प्रारम्भिक लक्षण पहिचान गर्न र आवश्यकता अनुसार मात्र विषादी प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

उनका अनुसार बालीमा समस्या देखिएपछि मात्रै उपचार खोज्नेभन्दा खेती सुरु गर्नुअघि नै प्राविधिकसँग परामर्श लिने प्रणाली विकास गर्न आवश्यक छ। सिरहाको ठूलो हिस्सा खेती अझै पनि आकाशे पानीमा निर्भर रहेको रिजालले बताए। समयमा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा किसानले मौसममा निर्भर भएर खेती गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। त्यससँगै आवश्यक समयमा गुणस्तरीय मल तथा बीउ उपलब्ध नहुनु पनि किसानका लागि प्रमुख समस्या रहेको उनले बताए। गुणस्तरीय कृषि सामग्रीको अभाव वा समयमा उपलब्ध नहुँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा समेत असर पर्न सक्ने उनले उल्लेख गरे।

खुला सीमाका कारण बीउबिजन तथा अन्य कृषि सामग्रीको गुणस्तर सुनिश्चित गर्न चुनौती रहेको रिजालले बताए। कम मूल्यमा सामग्री पाउने नाममा कतिपय किसानले गुणस्तरमा सम्झौता गर्ने गरेको भन्दै उनले त्यस्तो अभ्यासले दीर्घकालीन रूपमा उत्पादनमा असर पार्न सक्ने बताए। “सस्तो मूल्य मात्रै हेरेर बीउ र मल खरिद गर्दा उत्पादनमा प्रत्यक्ष असर पर्न सक्छ,” रिजालले भने। उनले किसानलाई प्रमाणित तथा गुणस्तरीय बीउ–मल प्रयोग गर्न र खरिद गर्नुअघि कृषि प्राविधिकसँग आवश्यक जानकारी लिन आग्रह गरे। बालीमा रोग, कीरा वा अन्य समस्या देखिँदा आफूखुसी औषधि खरिद गरी प्रयोग गर्ने प्रवृत्ति घटाउनुपर्ने रिजालको सुझाव रहेको छ।

उनका अनुसार कतिपय किसानले एग्रोभेटको सल्लाहका आधारमा आवश्यकताभन्दा बढी कृषि सामग्री खरिद गर्दा आर्थिक भार बढ्न सक्छ। त्यसैले समस्या पहिचानका लागि नजिकको कृषि सेवा केन्द्र वा बाली संरक्षण प्रयोगशालामा सम्पर्क गर्न उनले आग्रह गरे। “किसानलाई कुनै समस्या परेमा पहिले नजिकको कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्, आवश्यक परे हामीलाई जानकारी दिनुहोस्। हामी किसानको खेतबारीमै पुगेर समस्या अध्ययन गरी समाधान खोज्न तयार छौँ,” रिजालले भने।

मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय मातहत रहेको बाली संरक्षण प्रयोगशाला सिरहाले मधेश प्रदेशका आठ जिल्लामा सेवा प्रवाह गर्दै आएको जनाएको छ। प्रयोगशालाका प्रमुख कार्यक्षेत्रमा रोग तथा कीरा व्यवस्थापन, विषादीको सही र सुरक्षित प्रयोगसम्बन्धी व्यवस्थापन तथा उत्पादनोत्तर प्रविधिको प्रसार रहेका छन्। प्रयोगशालाले किसानको खेतबारीमा देखिएका रोग तथा कीरासम्बन्धी समस्या पहिचान, आवश्यक प्राविधिक अध्ययन तथा व्यवस्थापनका उपायबारे सुझाव दिन सक्ने रिजालले बताए।

रिजालका अनुसार सिरहा अन्न, दलहन, तेलहन, फलफूल तथा विभिन्न नगदे बाली उत्पादनका लागि उपयुक्त क्षेत्र हो। उपलब्ध कृषि भूमि र प्राकृतिक सम्भावनाको वैज्ञानिक ढंगले सदुपयोग गर्न सके सिरहाका किसानको आर्थिक अवस्था सुधार्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ। तर उत्पादन बढाउनु मात्र पर्याप्त नभएको उनले बताए। किसानले उत्पादन गरेको उपजको उचित मूल्य, बजार, भण्डारण, प्रशोधन र बजारीकरणको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए। “कृषि उत्पादन बढाउनेसँगै किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण पनि बनाउनुपर्छ,” रिजालले बताए।

बाली विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धानमा आफू निरन्तर संलग्न रहेको बताउँदै रिजालले सिरहा आएपछि यहाँको कृषि योग्य जमिन, किसानको अवस्था र खेती प्रणालीबारे विभिन्न पक्ष बुझ्ने प्रयास गरिरहेको बताए। उनका अनुसार स्थानीय स्तरमा देखिएका कृषि समस्याको समाधानका लागि किसानको अनुभवसँगै वैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई जोड्न आवश्यक छ। किसानले भोगिरहेका व्यावहारिक समस्याको अध्ययन गरी त्यसअनुसार कृषि प्रविधि विकास तथा विस्तार गर्न सके उत्पादन र उत्पादकत्व बढाउन सकिने उनले बताए।

यस वर्ष रसुवालगायतका क्षेत्रमा आएको बाढी तथा अन्य विपद्का कारण बजेटमा कटौती भएको रिजालले जानकारी दिए। बजेट सीमित भए पनि सिरहाका किसानका लागि आवश्यक कार्यक्रम सञ्चालन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोगका लागि आफ्नो तर्फबाट पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। उनले किसान, कृषि प्राविधिक र सरकारी निकायबीच नियमित समन्वय आवश्यक रहेको बताए। किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउँदै वैज्ञानिक खेती प्रणालीतर्फ अघि बढाउन सके सिरहाको कृषि क्षेत्रका धेरै समस्या क्रमशः समाधान गर्न सकिने उनको भनाइ छ।

रिजालले कृषि उत्पादन बढाउने अभियानसँगै माटोको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। रासायनिक विषादी तथा कृषि सामग्रीको विवेकपूर्ण प्रयोग, गुणस्तरीय बीउ–मलको प्रयोग, सिँचाइको व्यवस्था, रोग–कीराको समयमै पहिचान र प्राविधिक परामर्शलाई खेती प्रणालीको अनिवार्य हिस्सा बनाउनुपर्ने उनको सुझाव छ। सिरहाको कृषि सम्भावनालाई दीर्घकालीन रूपमा उपयोग गर्न माटोलाई केवल उत्पादनको माध्यमका रूपमा नभई संरक्षण गर्नुपर्ने प्राकृतिक स्रोतका रूपमा हेर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहामा बढ्दो लागूऔष ...

रहमुल, लहान, १६ असोज । सिरहामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुने घटना बढ्दै गएपछि यसको का ...

लहान कांग्रेसको नगर ...

ओम प्रकाश यादव, लहान असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लहान नगरपालिका नगर सभापति पद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤