Siraha Times
ताजा समाचार

कृषकलाई एकताबद्ध गर्दै कृषि क्षेत्रको रूपान्तरणमा अघि बढ्दै प्रगति कृषि सहकारी

  • असोज ११, २०८३
  • ४१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष रमेश महतोको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए। सभामा लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव, स्थानीय जनप्रतिनिधि, सहकारीका पदाधिकारी तथा सञ्चालक समिति, शेयरधनी, सदस्य र शुभेच्छुकहरूको उपस्थिति थियो।

साधारण सभामा संस्थाको विगतको प्रगति, आर्थिक अवस्था, सञ्चालन गतिविधि तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय किसानलाई सहकारीसँग जोड्दै कृषि उत्पादन वृद्धि, बजारीकरण, किसानलाई आवश्यक सेवा तथा सहुलियतपूर्ण ऋणको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। संस्थाका सचिव शिवनाथ सिंहका अनुसार प्रगति कृषि सहकारी सात वर्षअघि स्थापना हुँदा शून्यबाट सुरु भएको संस्था अहिले २५ जना कार्यसमिति सदस्य र ३५ जना शेयरधनी गरी ६० सदस्य आबद्ध भएको छ। संस्थाको हाल करिब २५ लाख रुपैयाँ रनिङ पुँजी रहेको र सदस्यहरूले आवश्यकताअनुसार सहज रूपमा ऋण लिन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए।

सिंहले सहकारीको मुख्य उद्देश्य कृषि क्षेत्रसँग सम्बन्धित रहेकाले आगामी दिनमा लहान–२३ का सबै किसानलाई संस्थामा सहभागी गराउने गरी विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए। किसानलाई संगठित गर्दै उत्पादन, लगानी, बजारीकरण र आर्थिक गतिविधिलाई सहकारीमार्फत जोड्ने लक्ष्य रहेको उनको भनाइ छ।

साधारण सभाका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले आफू जन्मिएको र कर्म गरेको गाउँमै कृषि क्षेत्रको विकासका लागि सहकारीले अघि बढिरहेकोमा खुसी व्यक्त गरे। आफू स्वयं पनि सफल किसान भएको उल्लेख गर्दै उनले स्थानीय किसानलाई एकताबद्ध गरी कृषि क्षेत्रलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।

उनले लहान–२३ मा कृषि क्षेत्रमा सम्भावना भएका धेरै सक्षम किसान रहे पनि व्यवस्थित रूपमा एकीकृत हुन नसक्दा विभिन्न समस्या देखिएको बताए। अब सहकारीमार्फत किसानलाई संगठित गर्दै कृषि उत्पादन र रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनको धारणा थियो। प्रमुख अतिथि महतोले “जिरोबाट सुरु भएको प्रगति कृषि सहकारीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको देखिन्छ” भन्दै आगामी दिनमा स्थानीयवासी, किसान, शेयरधनी र सरोकारवालाको साथ–सहयोग निरन्तर रहे संस्था थप मजबुत बन्दै जाने विश्वास व्यक्त गरे।

सभामा वक्ताहरूले सहकारीलाई केवल बचत तथा ऋणको कारोबारमा सीमित नराखी किसानको उत्पादनदेखि बजारसम्मको पहुँच सुनिश्चित गर्ने आर्थिक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए। साथै संस्थामा पारदर्शिता, सुशासन, सदस्यको सक्रिय सहभागिता र कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइएको थियो। साधारण सभाले आगामी दिनमा सदस्य तथा स्थानीय किसानको आर्थिक हितलाई केन्द्रमा राख्दै कृषि उत्पादन वृद्धि, किसानलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤