महमूद आलम खान / रहमुल, बाँके, ९ असोज । बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी तथा समन्वयका गतिविधि तीव्र पारिएको छ। सम्भावित भारी वर्षा, बाढी, डुबान तथा नदी कटानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सहित स्थानीय तह र सुरक्षा निकायले सतर्कता बढाएका हुन्।
सम्भावित वर्षा र डुबानको जोखिमलाई ध्यानमा राख्दै नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णयसमेत गरेका छन्। बाँकेमा विशेषगरी राप्ती नदी आसपासका बस्ती बाढी तथा कटानको जोखिममा छन्। राप्ती नदीको पश्चिमतर्फका केही गाउँ तथा नदीको पूर्वतर्फ राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर, झगडिया र नरैनापुर गाउँपालिकाका गंगापुर, भगवानपुर तथा मटैया क्षेत्र जोखिमयुक्त मानिएका छन्।
विगतमा समेत राप्ती नदीको बाढीबाट यी क्षेत्रमा ठूलो क्षति तथा विस्थापन हुने गरेको स्थानीयको भनाइ छ। त्यसैगरी वर्षाको पानीका कारण डुबानको जोखिममा रहेका नरैनापुर गाउँपालिकाका नरैनापुर, घोडदौरिया, गंगापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइया क्षेत्रलाई समेत उच्च निगरानीमा राखिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका काम भइरहेका बेला बिहीबार जिल्लाका विषयगत निकाय, स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् व्यवस्थापनमा सक्रिय सङ्घसंस्था, सुरक्षा निकाय तथा सञ्चारकर्मीको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले मौसम पूर्वानुमान तथा विपद्सम्बन्धी सूचना प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने र सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
बैठकले बाढी, डुबान, नदी कटान तथा पहिरोको जोखिममा रहेका बस्तीको अवस्थाबारे निरन्तर विश्लेषण गर्न, सुरक्षित आश्रयस्थल तथा खुला स्थान पहिचान गरी आवश्यक तयारी अवस्थामा राख्न स्थानीय तह तथा सम्बन्धित विषयगत कार्यालयलाई निर्देशन दिएको छ। सम्भावित विपद्का कारण सडक तथा यातायात अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपकरण, जनशक्ति तथा उद्धार सामग्री तयारी अवस्थामा राख्नसमेत सम्बन्धित निकायलाई भनिएको छ। बाढी तथा डुबानको उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकाले पालिकावासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले मौसमको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन, नदी तथा खोलानालाको आसपास नजान र विपद्सम्बन्धी आधिकारिक सूचना प्राप्त भएमा त्यसको पालना गर्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ। उहाँले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले आवश्यक अवस्थामा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्नसमेत आग्रह गर्नुभएको छ। सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
त्यस्तै, नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी संस्थालाई जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी उद्धार, राहत तथा मानवीय सहयोगका कार्यमा परिचालन हुन आग्रह गरिएको छ। बाढी तथा डुबानका बेला विद्युत्, खानेपानी र दूरसञ्चारजस्ता अत्यावश्यक सेवा प्रभावित हुन सक्ने भएकाले ती सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न बैठकले निर्देशन दिएको छ। विपद्का बेला सही सूचना समयमै नागरिकसम्म पुग्न नसक्दा जोखिम थपिन सक्ने भएकाले मौसम तथा विपद्सम्बन्धी सतर्कता सूचना तत्काल नागरिकसम्म पुर्याउन सञ्चारमाध्यम सँग सहयोगका लागि आग्रह गरिएको छ।
जिल्ला प्रशासन तथा स्थानीय तहले आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सार्वजनिक गर्न र अफवाह तथा अपुष्ट सूचनाका कारण नागरिकमा भ्रम सिर्जना हुन नदिनसमेत जोड दिएका छन्। सम्भावित न्यून चापीय प्रणालीका कारण वर्षा बढेमा नदीको जलस्तर वृद्धि, तटीय क्षेत्रमा कटान, सडक अवरुद्ध तथा होचा भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले बाँकेका जोखिमयुक्त क्षेत्रमा निगरानी र पूर्वतयारीलाई थप प्रभावकारी बनाइएको छ।>
सम्भावित विपद्बाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जिल्लाका सबै निकायबीच निरन्तर सूचना आदानप्रदान, प्रभावकारी समन्वय र आवश्यक परे तत्काल उद्धार तथा राहत परिचालन गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic