ताजा समाचार

रसुवा बाढीमा खडकका ९ नागरिक बेपत्ता : नगर प्रमुख चौधरी पीडित परिवारको घरमा

  • भदौ २८, २०८३
  • ११०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवारमा कहिल्यै नमेटिने पीडा थपिदिएको छ । आफ्ना ९ जना नागरिक बाढीमा परी बेपत्ता भएपछि यतिबेला सिंगो खडक नगरपालिका शोकमा डुबेको छ । घरका छोराहरू फर्किने आशामा परिवारका आँखामा आँसु छन् भने आफन्तहरू पीडामा छटपटाइरहेका छन् ।

यही असह्य पीडाको घडीमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी आज आफ्ना नगरवासीको दुःखमा साथ दिन खडक नगरपालिका–१०, डंगराहीस्थित पीडित परिवारको घरमा पुगेका छन् । जनताको दुःखलाई आफ्नै दुःख सम्झिँदै नगर प्रमुख चौधरीले शोकाकुल परिवारसँग भेट गरी धैर्य धारण गर्न आग्रह गरेका छन् ।

भदौ १० गते रसुवामा आएको बाढीमा परी खडक नगरपालिका–१० डंगराहीका नागरिकहरू सुरज मण्डल, शिव कुमार पासमान, राज कुमार पासमान र हेम नारायण साहलगायत ९ जना बेपत्ता भएका छन् । त्यस्तै रंजितपुरका ५ जना नागरिकसमेत यस विपत्तिको चपेटामा परेको जानकारी प्राप्त भएको छ ।

बाढीमा परी बेपत्ता भएका नगरपालिकाका ९ जना कामदारमध्ये १ जनाको शव प्राप्त भइसकेको छ भने बाँकी ८ जना अझै सम्पर्कविहीन रहेका छन् । आफ्ना नगरवासी कामदारहरूको यस्तो दुःखद् अवस्थाले खडक नगरपालिकाका परिवार, आफन्त र समस्त नगरवासीलाई स्तब्ध बनाएको छ । घरको आँगनमा छोराको पाइला सुनिने आशा बोकेर बसेका आमाबुबा, श्रीमती र परिवारका सदस्यहरूको पीडा अहिले शब्दमा बयान गर्न नसकिने अवस्थामा छ । कसैका लागि उनीहरू घरको सहारा थिए, कसैका लागि बुढेसकालको भरोसा । तर, रसुवाको बाढीले एकैपटक धेरै परिवारको खुसी खोसेको छ ।

पीडित परिवारसँग भेट गर्दै नगर प्रमुख जय प्रकाश चौधरीले आफ्ना नगरवासीको दुःखमा आफू पनि उत्तिकै मर्माहत भएको बताएका छन् । “जनता पीडामा परेको बेला जनप्रतिनिधि भएर म कसरी खुसी रहन सक्छु ? आफ्ना प्रिय भाइहरू गुमाउँदाको पीडाले म स्वयं पनि मर्माहत भएको छु,” नगर प्रमुख चौधरीले भावुक हुँदै भने । उनले बेपत्ता भएका आफ्ना प्रिय भाइहरूको सकुशल खोजी तथा उद्धारका लागि प्रार्थना गर्दै पीडित परिवारलाई धैर्य र हिम्मत राख्न आग्रह गरेका छन् ।

नगर प्रमुख चौधरीले दुःखमा रहेका परिवारका सदस्यहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे । नगरपालिका जस्तोसुकै सहयोगका लागि पनि तयार रहेको बताउँदै उनले विपत्तिको यस घडीमा पीडित परिवारको साथमा नगरपालिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रसुवा बाढीमा परी बेपत्ता भएका आफ्ना नगरवासीका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १ लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने घोषणा नगर प्रमुख चौधरीले गरेका छन् । पीडाको घडीमा नगरपालिकाले गरेको यस सहयोगको घोषणाले शोकमा रहेका परिवारलाई केही राहत र नगरपालिकाको साथको अनुभूति दिलाएको छ । यद्यपि, आफ्ना प्रियजनको खोजी र सकुशल फर्किने आशामा रहेका परिवारका लागि यो पीडा अझै गहिरो छ ।

नगर प्रमुख चौधरीले बेपत्ता भएका सबै नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल भइरहेको समेत जानकारी दिएका छन् । रसुवा बाढीमा खडक नगरपालिकाका नागरिकहरू बेपत्ता भएको घटनाले नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, आफन्त तथा सम्पूर्ण नगरवासीलाई स्तब्ध बनाएको छ । आफ्नै घरपरिवारका सदस्यजस्तै रहेका कामदारहरूको अवस्था अज्ञात हुँदा पीडित परिवारको आँसु थामिएको छैन । नगर प्रमुख चौधरीको पीडित परिवारप्रतिको आत्मीयता, मानवीय संवेदना र आर्थिक सहयोगको घोषणाले दुःखमा रहेका परिवारलाई केही आशा र हौसला प्रदान गरेको छ ।

अहिले खडक नगरपालिकाको एउटै प्रार्थना छ—रसुवाको बाढीमा बेपत्ता भएका सबै नागरिक सकुशल फर्किऊन् । शोकमा रहेका परिवारले आफ्ना प्रियजनको अनुहार फेरि देख्न पाऊन् । पीडित परिवारलाई यो असह्य दुःख सहन सक्ने शक्ति मिलोस् । खडक नगरपालिका आज आफ्ना नागरिकको पीडामा रोइरहेको छ, उनीहरूको सकुशल उद्धारको आशामा प्रार्थना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤