Siraha Times
ताजा समाचार

१३ दिनदेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा, अनुसन्धानले खोल्यो हत्याको रहस्य

  • भदौ २६, २०८३
  • ९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ्टी ट्यांकीभित्र टुक्राटुक्रा अवस्थामा फेला परेको छ। शव भेटिएसँगै घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चिएको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको घरमा रहेको शौचालयको सेफ्टी ट्यांकीबाट बरामद गरिएको हो। प्रहरीका अनुसार शवलाई टुक्र्याएर सेफ्टी ट्यांकीभित्र लुकाइएको र माथिबाट सिमेन्ट–बालुवाले प्लास्टर गरिएको अवस्थामा फेला परेको हो।

रक्षाबन्धनदेखि थिए बेपत्ता विवेक रक्षाबन्धनको दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी थालेका थिए। घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको थियो। अनुसन्धानका क्रममा विवेकको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपास देखिएको प्रहरीले जनाएको छ। त्यस्तै, उनको अन्तिम फोन कल दिपेन्द्र ठाकुरकी श्रीमतीको मोबाइल नम्बरमा देखिएपछि अनुसन्धान थप शंकास्पद बनेको प्रहरी स्रोतको भनाइ छ।

शंकाका आधारमा प्रहरीले घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा उनीहरूले विवेकको शव सेफ्टी ट्यांकीमा लुकाएको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि ट्यांकी खोलेर शव बरामद गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा विवेक र दिपेन्द्रकी श्रीमतीबीचको चिनजान तथा हिमचिमलाई घटनाको सम्भावित कारणका रूपमा प्रहरीले हेरेको छ। प्रहरीको प्रारम्भिक अनुमानअनुसार दिपेन्द्रकी श्रीमतीमार्फत फोन गराएर विवेकलाई घरमा बोलाइएको र त्यसपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण, हत्या कसरी भयो र घटनामा अन्य व्यक्तिको संलग्नता छ/छैन भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

दिपेन्द्र केही समय वैदेशिक रोजगारीमा रहेका थिए। उनी केही दिनअघि मात्रै घर फर्किएको प्रहरीको भनाइ छ। उनको ससुराली भंगहा नगरपालिका–७ संग्रामपुरमा पर्छ, जुन विवेकको गाउँ नजिकै रहेको बताइएको छ। १३ दिनदेखि बेपत्ता युवकको खोजीका क्रममा शव पत्ता लगाउन प्रहरी सफल भएपछि स्थानीयले अनुसन्धानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ। प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

खडक नगरपालिकामा निःश ...

ओम प्रकाश यादव लहान भदौ २६ । सप्तरी जिल्लाको खडक नगरपालिकाले क्षयरोग (ट्युबरकुलोसिस– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१