ओम प्रकाश यादव लहान भदौ २६ । सप्तरी जिल्लाको खडक नगरपालिकामा क्षयरोग (ट्युबरकुलोसिस–TB) रोगको समयमै पहिचान तथा निदान गर्ने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क आधुनिक AI–X-ray स्क्रिनिङ शिविर आज सम्पन्न भएको छ। खडक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कल्याणपुर सप्तरी अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाका विभिन्न वडा तथा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय नागरिकहरूको क्षयरोग सम्बन्धी निःशुल्क परीक्षण तथा स्क्रिनिङ गरिएको थियो।
नगरपालिकाले भदौ २३ गतेदेखि विभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा चरणबद्ध रूपमा शिविर सञ्चालन गरेको थियो। शिविर अन्तर्गत इनर्वाफुलबडिया स्वास्थ्य चौकी वडा नं. १०, बनौली स्वास्थ्य चौकी वडा नं. ११, मैनाहसहरसवाहू स्वास्थ्य चौकी वडा नं. ९, आधारभूत अस्पताल कल्याणपुर वडा नं. ७, खोजपुर स्वास्थ्य चौकी वडा नं. ५, पंसेरा स्वास्थ्य चौकी वडा नं. ४ लगायत विभिन्न स्थानमा निःशुल्क AI–X-ray मार्फत क्षयरोगको स्क्रिनिङ गरिएको थियो। त्यसैगरी दुहवी तथा सिस्वा स्वास्थ्य चौकी वडा नं. १२, विसनपुर आधारभूत स्वास्थ्य संस्था वडा नं. ८ तथा आधारभूत स्वास्थ्य चौकी बनझुला वडा नं. ३ मा समेत शिविर सञ्चालन गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको खडक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
आधुनिक प्रविधिको प्रयोगमार्फत क्षयरोगको प्रारम्भिक अवस्थामै पहिचान गरी समयमै आवश्यक उपचारमा पहुँच पुर्याोउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षणसँगै क्षयरोग सम्बन्धी आवश्यक परामर्श तथा जानकारी समेत प्रदान गरिएको थियो।क्षयरोगको समयमै पहिचान भएमा उचित उपचारबाट निको हुन सक्ने भएकाले नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले नगरवासीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। आधुनिक AI–X-ray प्रविधिबाट क्षयरोगको पहिचान गर्न पाउनु स्थानीय नागरिकका लागि महत्वपूर्ण अवसर भएको समेत नगरपालिकाको भनाइ छ। खडक नगरपालिकाले शिविर सञ्चालनमा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, प्राविधिक टोली, सम्बन्धित स्वास्थ्य संस्था तथा सहभागी नागरिकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic