सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झनामा खडक नगर युवा सञ्जालको आयोजनामा सप्तरीको खडक नगरपालिका–स्थित कल्याणपुर बजारमा दीप प्रज्वलन तथा एक मिनेट मौन धारण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा खडक नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट आएका युवा, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गरेका थिए।
आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण वीर शहीदहरूको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो। सहभागीहरूले शहीदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखी उनीहरूले देखाएको साहस, उठाएको आवाज र दिएको योगदानलाई आगामी पुस्ताले समेत स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा समाजसेवी, बुद्धिजीवी तथा युवाहरूले मन्तव्य व्यक्त गर्दै युवाहरूको आवाज, अधिकार, अवसर तथा भविष्यसँग जोडिएका विषयमा राज्य तथा सम्बन्धित पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे। उनीहरूले युवाको आवाजलाई सम्मान गर्दै न्याय, समानता र अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
कल्याणपुर बजारमा आयोजित दीप प्रज्वलन कार्यक्रमले शहीदहरूप्रति सम्मानसँगै सामाजिक एकता, युवाको जागरूकता र न्यायपूर्ण समाज निर्माणप्रतिको प्रतिबद्धता समेत झल्काएको सहभागीहरूले बताएका छन्।कार्यक्रममा सहभागीहरूले “शहीदहरू हामीबीच नरहे पनि उनीहरूको साहस, सपना र योगदान सधैँ हाम्रो सम्झनामा जीवित रहनेछ” भन्ने भावना व्यक्त गर्दै शहीद परिवारप्रति सम्मान तथा समवेदना प्रकट गरे।
खडक नगर युवा सञ्जालका युवाहरूले आगामी दिनमा पनि शहीदहरूको योगदान र इतिहासलाई सम्मानपूर्वक स्मरण गर्दै सामाजिक न्याय, अधिकार र सकारात्मक परिवर्तनका पक्षमा युवाहरूको भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। दीप प्रज्वलन तथा मौन धारण कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic