Siraha Times
ताजा समाचार

धार्मिक सद्भाव कायम गर्न खडक नगरपालिकाको विशेष पहल, सबै वडामा सर्वपक्षीय बैठक गर्ने निर्णय

  • साउन १५, २०८३
  • ३५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएको धार्मिक तनाव र त्यसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नगरभित्र धार्मिक सद्भाव, सामाजिक एकता तथा शान्ति कायम गर्न विशेष पहल गर्ने निर्णय गरेको छ।

शुक्रबार साउन १५ गते नगर प्रमुख जय प्रकाश चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले धार्मिक सद्भाव प्रवर्द्धनका लागि नगरका सबै वडामा सर्वपक्षीय बैठक आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा उपप्रमुख रिता कुमारी चौधरी, विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय जिम्मेवारी सम्हालिरहेका सचिव (नि.प्र.प्र.अ.) विनोद कुमार ठाकुर तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा दुई वटा मुख्य प्रस्तावमाथि विस्तृत छलफल गरिएको थियो। पहिलो प्रस्ताव हालका घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्ने तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने सम्बन्धमा रहेको थियो भने दोस्रो प्रस्ताव नगरभित्र धार्मिक सद्भाव कायम राख्न प्रत्येक वडामा समन्वयात्मक बैठक सञ्चालन गर्ने विषयसँग सम्बन्धित थियो।

कार्यपालिका बैठकले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहता तथा सिराहाको गोलबजारमा मृत्यु भएका गणेश यादवप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्ने निर्णय गरिएको छ।

बैठकले सुनसरीको कप्तानगञ्ज र सिराहाको गोलबजारमा भएको धार्मिक विवादको असर अन्य स्थानमा फैलिन नदिन खडक नगरपालिकाभित्र समयमै सचेतनात्मक पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ। यसअनुसार नगरपालिकाका सबै वडामा वडा अध्यक्षको समन्वयमा विभिन्न धर्म, जातजाति, भाषा तथा समुदायका अगुवा, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सरोकारवालाको सहभागितामा वडा स्तरीय धार्मिक सद्भाव बैठक आयोजना गरिने निर्णय गरिएको छ। ती बैठकमार्फत आपसी विश्वास, सहिष्णुता, सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरण कायम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

बैठकले धार्मिक विविधता नेपालको साझा पहिचान भएको उल्लेख गर्दै कुनै पनि किसिमका अफवाह, द्वेषपूर्ण अभिव्यक्ति वा साम्प्रदायिक गतिविधिबाट प्रभावित नहुन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ। साथै सबै नागरिकलाई संयमित, जिम्मेवार र आपसी सम्मानको भावनासहित सामाजिक एकता मजबुत बनाउन सहयोग गर्न अपिल गरिएको छ। खडक नगरपालिकाले शान्ति, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यले आगामी दिनमा समेत आवश्यक समन्वय र संवादका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१