Siraha Times
ताजा समाचार

सिरहाको परिहारपुरमा दूध चिस्यान तथा संकलन केन्द्र सञ्चालन, ३५० घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुने

  • साउन ९, २०८३
  • ९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ८ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुर चोकमा दूध उत्पादनको गुणस्तर अभिवृद्धि, उत्पादनपछिको क्षति न्यूनीकरण तथा किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले अत्याधुनिक दूध चिस्यान तथा संकलन केन्द्र सञ्चालनमा आएको छ।

पोषण कार्यक्रम अन्तर्गत केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सहकार्य तथा श्री राधाकृष्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सँगको लागत साझेदारीमा उक्त केन्द्र स्थापना गरिएको हो। कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिका सँगको समन्वयमा सञ्चालन गरिएको हो। केन्द्रको उद्घाटन सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीको अध्यक्षता तथा मधेस प्रदेश सभाका निवर्तमान सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा युवा नेता शुभक यादव, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय सचिव लक्ष्मी भण्डारी, मधेस प्रदेश प्रमुख दिलीप साह, पालिका तथा प्रदेशस्तरीय महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा ठूलो संख्यामा कृषकहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश प्रमुख दिलीप साहले सखुवानन्कारकट्टी गाउँपालिकामा विगत देखि नै किसानमुखी तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गर्दै यस दूध चिस्यान केन्द्रले स्थानीय किसानलाई बजार सँग जोड्ने, दूधको गुणस्तर कायम राख्ने र पोषण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रमुख अतिथि अशोक कुमार यादवले सखुवानन्कारकट्टी र आसपासका क्षेत्र किसानबहुल भएकाले यस केन्द्रले विशेषगरी साना तथा विपन्न किसानको आयआर्जन बढाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले किसानलाई सहुलियत कर्जा उपलब्ध गराउन सके पशुपालन व्यवसाय अझ विस्तार हुने र आर्थिक अवस्था सुदृढ बन्ने धारणा राखे। सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीका अनुसार केन्द्र सञ्चालनमा आएपछि स्थानीय किसानमा उत्साह थपिएको छ।

किसानहरूले दूध बिक्रीका लागि अब टाढा जानुपर्ने बाध्यता हट्ने, उचित मूल्य प्राप्त हुने तथा पशुपालन व्यवसाय विस्तार गर्न थप प्रेरणा मिलेको बताएका छन्। यस परियोजनाको कुल लागत ८ लाख ८५ हजार ४९८ रुपैयाँ रहेको छ। जसमध्ये पोषण परियोजनाको ६५ प्रतिशत (रु. ५ लाख ७५ हजार ५७४) तथा सहकारी संस्थाको ३५ प्रतिशत (रु. ३ लाख ९ हजार ९२४) लागत साझेदारी रहेको आयोजकले जनाएको छ।

परियोजनाअन्तर्गत ५०० लिटर क्षमताको चिलिङ भ्याट १ थान, ४० लिटरका २० वटा दूध क्यान, ५ लिटरका १०० वटा क्यान, ५ केभीएको स्टेबलाइजर, अटोमेटिक मिल्क एनालाइजर तथा ५ केभीएको जेनेरेटर सेट उपलब्ध गराइएको छ। यी उपकरणले दूधको गुणस्तर परीक्षण, सुरक्षित भण्डारण तथा विद्युत् अवरोध हुँदा पनि सेवा निरन्तर सञ्चालन गर्न सहयोग गर्नेछ।

आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएको यस परियोजनाबाट करिब ३५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसैबीच, केयर नेपाल र आईडी नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले सहकारी संस्थालाई आवश्यक सामग्रीसमेत हस्तान्तरण गरेको जनाएको छ।

सहकारी संस्थाले अब परिहारपुर चोकस्थित दूध संकलन केन्द्रमार्फत ताजा दूध, दही, घ्यु, पनिर, खुवा लगायतका दुग्धजन्य सामग्री उचित मूल्यमा उपलब्ध गराउने जानकारी दिएको छ। स्थानीय कृषकका अनुसार यो केन्द्र सञ्चालनमा आएसँगै दूध उत्पादनलाई व्यवस्थित बजार प्राप्त हुने, उत्पादनको गुणस्तर कायम रहने, पशुपालन व्यवसाय विस्तार हुने तथा ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर प्राथमिक स् ...

कुलानन्द यादव सिराहा साउन ८ गते । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–कल्याणपुरमा सर्पदंशबाट एक ...

सञ्चारसम्बन्धी विधेय ...

जनकपुरधाम साउन ७ । मधेश प्रदेश सरकारले सञ्चार सम्बन्धी विधेयक ल्याउने तथा स्वायत्त सञ्चार संस्थाहरूक ...

लहानको हरेक कुनाले भ ...

लहान । बिहानको चहलपहलसँगै लहानका सडकहरू बिस्तारै जाग्छन्। पसलका सटर खुल्छन्, बजारमा मानिसहरूको भीड ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१