Siraha Times
ताजा समाचार

पति हिंसा, गरिबी र अन्यायको दोहोरो मारमा देवकुमारी यादव

  • जेठ २९, २०८३
  • ४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनकथा अहिले समाजका लागि गम्भीर प्रश्न बनेको छ। एकातिर वर्षौंदेखिको घरेलु हिंसा, अर्कोतिर गरिबी, असुरक्षा र न्यायको खोजीमा बितेका दिनहरूले उनको जीवन अत्यन्त कष्टकर बनेको छ। पीडित देवकुमारी र उनका बालबालिकाको अवस्था देख्दा समाजमा महिलामाथि हुने विभेद र हिंसाको वास्तविक चित्र उजागर भएको छ।

महिलालाई समाजमा जननी, लक्ष्मी तथा परिवारको सम्मानका रूपमा व्याख्या गरिए पनि व्यवहारमा भने धेरै महिलाले अझै पनि हिंसा, अपमान र अन्याय भोग्न बाध्य छन्। देवकुमारी यादवको अवस्था त्यसैको एक ज्वलन्त उदाहरण बनेको स्थानीयवासीहरू बताउँछन्। देवकुमारी यादवको माइती घर सिरहाको लहान नगरपालिका–२३ बथनाहामा रहेको छ। करिब १७/१८ वर्षअघि उनको विवाह सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाका गणेश यादवसँग दोस्रो पत्नीका रूपमा भएको थियो। स्थानीयका अनुसार गणेश यादवले पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरी छुटेका थिए। 

पहिलो पत्नीले कानुनी प्रक्रिया अपनाएर आफ्नो अंश लिएपछि घर छोडेकी थिइन्। विवाहको केही समयसम्म सामान्य देखिए पनि दुई वर्ष नबित्दै देवकुमारीमाथि विभिन्न प्रकारका मानसिक तथा शारीरिक यातना सुरु भएको पीडित, स्थानीय तथा माइती पक्षको भनाइ छ। हाल उनका दुई छोरी र एक छोरा रहेका छन्। लामो समयदेखि पति पक्षबाट हिंसा सहँदै आएकी उनी कहिले माइती त कहिले आफ्नै घरमा असुरक्षित जीवन बिताउन बाध्य भएकी छन्।

देवकुमारीकी आमा ललिता यादव स्वयं अत्यन्त कमजोर आर्थिक अवस्थामा झुपडीमा जीवन गुजारिरहेकी छन्। त्यही अभावको जीवनमा छोरी र नातिनातिनाको पीडा थपिँदा परिवारको अवस्था झनै दयनीय बनेको छ। पीडित पक्षका अनुसार करिब १०/१२ वर्षअघि देवकुमारीले निरन्तर हिंसा सहन नसकी गाउँ समाज तथा दुवै पक्षका अगुवासँग न्यायको गुहार मागेकी थिइन्। त्यसपछि उनी कानुनी प्रक्रियामा गएकी थिइन्। अदालतबाट गणेश यादवको करिब तीन बिघा जग्गामध्ये १२ कट्ठा जग्गा नदीछेउको बगर क्षेत्रमा अंशस्वरूप छुट्याइएको बताइन्छ। तर बाँकी सम्पत्ति भने गणेश यादवले आफ्ना दाजुभाइ तथा परिवारका सदस्यहरूको नाममा नामसारी गरेको आरोप स्थानीय तथा पीडित पक्षले लगाएका छन्।

देवकुमारीको आरोप अनुसार अदालतको निर्णयपछि पनि उनीमाथि कुटपिट, गालीगलौज, अपमान तथा विभिन्न प्रकारका दबाब निरन्तर जारी रह्यो। उनले पटक–पटक प्रहरी प्रशासन, स्थानीय सरकार तथा सम्बन्धित निकायमा न्यायको माग गर्दै पुगे पनि अपेक्षित सुनुवाइ हुन नसकेको गुनासो गरेकी छन्। “अब त कुटाइ खाँदाखाँदै बाँच्ने आशा पनि हराउँदै गएको छ। धेरै ठाउँमा न्याय माग्न गएँ तर मेरो पीडा सुन्ने कोही भेटिन,” देवकुमारीले भावुक हुँदै भनिन्।

स्थलगत रिपोर्टिङका क्रममा देवकुमारी बसोबास गरिरहेको झुपडी, खानपानको अवस्था तथा बालबालिकाको जीवनस्तर अत्यन्तै कष्टकर देखिएको थियो। न्यूनतम जीवनयापनका आधारभूत आवश्यकतासमेत पूरा हुन नसकेको अवस्था प्रत्यक्ष देख्न सकिन्थ्यो। यस विषयमा गणेश यादव, उनका दाजु महेन्द्र यादव, जेठानी तथा परिवारका अन्य सदस्यसँग कुराकानी गर्दा उनीहरूले देवकुमारीलाई नै दोषी देखाउने प्रयास गरेका थिए। तर थप प्रश्न गर्दा उनीहरूले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् जुन हप्तौं बितिसक्दा सार्वजनिक गरेका छैनन।

यता सरहानचिया र बथनाहाका स्थानीयवासीहरूले भने गणेश यादव र उनका परिवारका सदस्यहरूले लामो समयदेखि देवकुमारीमाथि विभिन्न प्रकारका हिंसा गर्दै आएको दाबी गरेका छन्। स्थानीयका अनुसार समुदायका व्यक्तिहरूले पीडितको पक्षमा बोल्दा समेत विभिन्न मुद्दामामिलामा फसाउने डर देखाउने तथा सामाजिक वातावरण नै असहज बनाउने प्रवृत्ति बढेको छ।

स्थानीयवासीहरूले गणेश यादवको नाममा रहेको सम्पत्ति किन र कसरी अन्य परिवारजनको नाममा नामसारी गरियो भन्ने विषय पनि गम्भीर अनुसन्धानको विषय भएको बताएका छन्। उनीहरूले सम्पत्तिको वास्तविक अवस्था, अंशसम्बन्धी विवाद तथा पीडितमाथि भएको हिंसाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

महिला अधिकारकर्मीहरूका अनुसार घरेलु हिंसा र सम्पत्तिसम्बन्धी विवादका यस्ता घटनामा राज्य संयन्त्रले संवेदनशील भएर तत्काल हस्तक्षेप गर्न आवश्यक छ। अन्यथा पीडित महिलाहरू झनै असुरक्षित बन्दै जाने खतरा रहन्छ। देवकुमारी यादव र उनका सन्तानको वर्तमान अवस्था हेर्दा सम्बन्धित निकाय, मानवअधिकार संस्था, महिला आयोग तथा स्थानीय सरकारले तत्काल ध्यान दिनुपर्ने देखिन्छ। 

पीडित परिवारले न्याय, सुरक्षित आवास, जीवनयापनको व्यवस्था तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। स्थानीयवासीहरू भन्छन्, “यदि समयमै निष्पक्ष छानबिन र न्याय भएन भने यो परिवारको अवस्था अझ जटिल बन्न सक्छ। राज्यले पीडितको आवाज सुन्नु र न्याय दिलाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता

प्रतिक्रिया दिनुहोस

​सिराहाको धनगढीमाईमा ...

विनोद अविरल,​जेठ २८, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ स्थित खजनपुर टोलमा रहे ...

नवराजपुर गाउँपालिकाम ...

ओम प्रकाश यादव लहान जेष्ठ २८ । नवराजपुर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कक्षा १ ...

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१