Siraha Times
ताजा समाचार

नवराजपुरका भूमिहीन दलितलाई करार खेतीका लागि हाते ट्याक्टर

  • जेठ २७, २०८३
  • ४१७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। पूर्वपश्चिम हुलाकी सडकनजिकै रहेको सिराहाको दक्षिणी सीमावर्ती नवराजुर गाउँपालिकाअन्तर्गत पर्ने पाँच वडा क्षेत्रमा बसोवास गरिरहेका भूमिहीन दलितहरुलाई खेतीपाती गर्न सहजताका लागि १२ वटा हाते ट्याक्टर वितरण गरिएको हो।

गाउँपालिकामा पर्ने पाँच वडाअन्तर्गत बसोवास गरिरहेका भूमिहीन दलितहरु आफैंले चलाइरहेका ३८ वटा कृषक समूहमध्ये १२ वटा समूहलाई सोमबार स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा हाते ट्याक्टर दिइएको हो। नवराजपुर गाउँपालिका कार्यालयसहित लहानस्थित दलित जनकल्याण युवा क्लव र मेनोनाइट सेन्ट्रल कमिटीको सहकार्यमा १२ समूहमा आबद्ध रहेका ३०४ सदस्यले पालैपालो प्रयोग गर्ने गरी आठ लाख ४२ हजार ९५३ रुपैयाँबराबरको हाते ट्याक्टर दिइएको हो। ‘हाते ट्याक्टरसँगै इञ्जिन र गियर तेल तथा डिजल उपलब्ध गराएको क्लवका अध्यक्ष उमेकुमार विसुन्केले जानकारी दिए।

प्रायः कृषि मजदूरी गरेर जीविका चलाउँदै आएका स्थानीय भूमिहीन दलितहरुलाई एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजनाअन्तर्गत पालिकासँगको सहकार्यमा खेतीपातीसहित आयआर्जनसम्बन्धी काम गर्न आर्थिक सहयोग उपलब्ध गराइएको सामाजिक परिचालक सन्तोषकुमार विसुन्केले बताए। उनका अनुसार समूहका सदस्यहरुले लिजमा लिइएको जग्गामा अन्न तथा तरकारी खेती, बालबालिका शिक्षा, आयआर्जनका लागि किराना पसल, घुम्ती कपडा पसल संचालन गर्न सहयोग उपलब्ध गराइएको हो। ‘हाते ट्याक्टर चलाउन तालिमसहित हरेक समूहमा एक–एक जना चालक समेत तोकिएका छन्’ उनले भने। 

नवराजपुर ३ फूलबरिया गाउँस्थित ओमशान्ति कृषक समूहकी अध्यक्ष समेत रहेकी करिब ३७ वर्षीया सुलेना सदायका अनुसार परियोजनामार्फत वार्षिक ४१ हजार एक सय रुपैयाँमा लिजमा लिइएको दुई बिघा साढे पाँच कठ्ठा जग्गा साढे चार कठ्ठाका दरले १० भूमिहीन परिवारले खेती गरिरहेका छन्। ‘सधैं कृषि मजदूरी गरेर पेट पाल्दै आएका स्थानीय भूमिहीन दलितहरुका लागि जग्गा बोहक बीउविजन, टोलमा स्वच्छ खानेपानीका लागि कल जडान, सिंचाईका लागि बोरिङ समेत सहयोग पाएका छौं,’ उनले भनिन् ‘जग्गा पाएकाहरु आफैँले अन्न तथा तरकारी खेती गर्दा हातमुख जोड्नका लागि त्यति तनाव झेल्नु परेको छैन।’

त्यस्तै, छिमेकी बरियारपट्टि गाउँपालिका ५ बाहेक चार वटा वडाका आठ समूहलाई पनि मंगलबार जनप्रतिनिधिहरुको उपस्थितिमा पाँच लाख ६१ हजार ९६८ रुपैयाँ मूल्यको एक–एक थान हाते ट्याक्टर उपलब्ध गराइएको परियोजना संयोजक लालप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार बरियारपट्टिको १, २, ३ र ४ नं. वडा का ४० परिवारलाई खेतीपातीका लागि वार्षिक लिजमा छ बिघा नौ कठ्ठा १७ धुर जग्गा उपलब्ध गराइएको छ। ‘उपलब्ध गराइएको जग्गामा समूहमा आबद्ध भूमिहीन दलितहरुले खेती गरी आफ्नो अवस्था उकास्न थालेका छन् ।’

बरियारपट्टि ३ का वडाध्यक्ष विनोदकुमार यादव भन्छन् ‘सामूहिक लिजमा उपलब्ध गराइएको जग्गामा खेतीपाती गरिरहेकासहित सबै दलित परिवारको सुरक्षित बसोवास, बालबालिकाको शिक्षा, सरकारसफाइ, आचरण सुधार लगायतका क्षेत्रको सुधारका लागि वडास्तरबाट पनि प्रयास गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहामा प्रहरीको दुई ...

ओम प्रकाश यादव,लहान जेठ २७ । सिरहा प्रहरीले छुट्टाछुट्टै दुई कारबाहीमा अवैध रूपमा बिक्री वितरण भइरहे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१