Siraha Times
ताजा समाचार

रास्वपाको प्रथम ऐतिहासिक सिरहा जिल्ला अधिवेशन : नयाँ राजनीतिक संस्कारको अपेक्षाबीच नेतृत्वको व्यवहारमाथि प्रश्न

  • जेठ २४, २०८३
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम जिल्ला अधिवेशन सिरहामा सम्पन्न भएको छ। पार्टीका लागि जिल्लास्तरको पहिलो अधिवेशन भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको थियो। अधिवेशनमा सहभागी कार्यकर्ता, प्रतिनिधि तथा समर्थकहरूले नयाँ राजनीतिक संस्कार र जिम्मेवार नेतृत्वको अभ्यास देख्न चाहेका थिए। तर कार्यक्रमको अन्तिम चरणमा देखिएको नेतृत्वको व्यवहारले केही प्रश्नहरू जन्माएको छ।

अधिवेशनको खुला सत्र चलिरहेकै बेला सभापतित्व ग्रहण गरेका जिल्ला सभापति हरि प्रसाद मैनाली, प्रमुख अतिथि मधेश प्रदेश समितिका सभापति तथा सिरहा–४ बाट निर्वाचित सांसद तपेश्वर यादव, सिरहा क्षेत्र नं. १ र ३ का सांसद तथा समानुपातिक सांसदसहित केही नेताहरू मञ्च छोडेर बाहिरिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम सञ्चालन गरिरहेका सञ्चालकले समापन प्रक्रियाका लागि पटक–पटक आह्वान गरे पनि बाहिरिएका नेताहरू पुनः कार्यक्रमस्थलमा फर्किएनन्। अन्तिमसम्म उपस्थित रहेका कार्यकर्ता तथा प्रतिनिधिहरू नेतृत्वको प्रतीक्षामा बसेका थिए। तर नेतृत्व भने कार्यक्रमको निष्कर्षभन्दा बाहिरको छलफल तथा कोठे बैठकमै व्यस्त देखिएको सहभागीहरूको गुनासो छ।

राजनीतिमा परिवर्तन, पारदर्शिता र नयाँ संस्कारको नारा लिएर उदाएको दल भएकाले रास्वपाबाट कार्यकर्ता र आम नागरिकको अपेक्षा पनि स्वाभाविक रूपमा फरक रहने गर्छ। विशेषगरी अधिवेशनजस्ता महत्वपूर्ण कार्यक्रममा नेतृत्वको उपस्थितिलाई केवल औपचारिकता नभई संगठनप्रतिको उत्तरदायित्वका रूपमा हेरिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेतृत्वको मूल्याङ्कन केवल भाषण र घोषणाबाट मात्र हुँदैन, व्यवहार र कार्यशैलीबाट पनि हुन्छ। कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरू नै समापनअघि मञ्च छोडेर बाहिरिनुले संगठनभित्रको व्यवस्थापन र समन्वय क्षमतामाथि प्रश्न उठ्न सक्ने देखिन्छ। अधिवेशनस्थलमा राखिएको ब्यानरमा “राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम ऐतिहासिक सिरहा जिल्ला अधिवेशन” उल्लेख गरिएको थियो। तर इतिहास केवल नाराले होइन, जिम्मेवार आचरण, संगठनात्मक अनुशासन र कार्यकर्ताप्रतिको सम्मानबाट निर्माण हुने टिप्पणी सहभागीहरूले गरेका छन्।

यद्यपि अधिवेशन सम्पन्न हुनु आफैंमा संगठन विस्तार र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। तर कार्यक्रमको अन्तिम चरणमा देखिएको नेतृत्वको अनुपस्थितिले अधिवेशनको समग्र सन्देशलाई केही हदसम्म प्रभावित गरेको अनुभूति कार्यकर्ताहरूमा देखिएको छ।

पार्टीले आफूले उठाउँदै आएको वैकल्पिक राजनीति, सुशासन र नयाँ राजनीतिक संस्कारको नारालाई व्यवहारमा पनि उतार्न सके मात्र कार्यकर्ता र आम जनताको विश्वास अझ मजबुत बन्ने अपेक्षा गरिएको छ। सिरहाको यो अधिवेशनले संगठन विस्तारको सन्देश त दिएको छ, तर नेतृत्वको व्यवहार र जिम्मेवारीबोधबारे उठेका प्रश्नहरूको जवाफ भने आगामी दिनका गतिविधिले दिनेछ।

प्रतिक्रिया दिनुहोस

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१