Siraha Times
ताजा समाचार

डिआईजीको नाममा धाक, घुमुवा मार्फत असुली ! सिम्रौनगढमा तस्करी संरक्षणको जालो उजागर

  • जेठ २२, २०८३
  • ४६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रशय दिईरहेको समाचार प्राप्त भएको छ । ईप्रका सिम्रौनगढ मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि प्रहरी जवान छोटेलाल पटेललाई घुमुवाको रुपमा खटाईएको बताईन्छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी जवान छोटेलाल पटेलले सिम्रौनगढ मातहत पर्ने काचोर्वा,खजानी,श्रीनगर बैरीया, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा पटेलले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।

सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक १० हजार देखि ५० हजार असुली घुमुवा पटेलले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

सो नाका भएर भारतबाट अरविन्द हार्डवेयर र कस्मेटिक, शत्रुधन र सन्दिप चला, भोला, मास्टर, सन्दीप र राकेश कपडा, धान, मल लगायतका सामग्रीहरुको तस्करीको माध्यमबाट निर्वाध रुपमा आईरहेको समाचार स्रोतको दाबी रहेको छ । नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ । यतिमात्र होईन, देशभरी नै लागु औषध विरुद्ध अभियान चलिरहेको भए पनि सिम्रौनगढ नाकाबाट लागु औषधको कुख्यात तस्कर राजेशले घुमुवा पटेल सँग साठगाठ गरी लागुऔषध गाँजाको तस्करी निर्वाध रुपमा गरिरहेको समाचार स्रोतले जनाएको छ ।

ती स्रोतका अनुसार तस्करी वापत घुमुवा पटेलले ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवम प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ । यदि प्रहरी निरीक्षक साहले मासिक नजराना नबुझेको भए निर्वाध रुपमा तस्करी भईरहेको विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ ती स्रोतको भनाई रहेको छ । 

प्रहरी जवान छोटेलाल पटेल प्रहरी संगठनका अधिकृतहरुलाई रिझाई बिगत करिब तीन वर्ष देखि ईप्रका सिम्रोनगढमा घुमुवाको रुपमा कार्य गर्दै आएको बताईन्छ । घुमुवा पटेल आर्थिक अपराधमा संलग्न भएको भनि प्रहरी संगठनको माथिल्लो निकायहरुमा गुनासो गएपछि करिब ६ महिनाको लागि सिम्रौनगढबाट हटेका थिए । पछि पुनः केही प्रहरी अधिकृतहरुलाई रिझाई सिम्रौनगढमै घुमुवाको रुपमा स्थापित हुन सफल भएको बताईन्छ ।

प्रहरी निरीक्षक साह तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पालामा प्रहरी नायब निरीक्षक थिए । सो बेला सई साहकै नेतृत्वमा करिब १० जनाको टोली सिरहा, धनुषा र महोत्तरीमा घुमुवाको रुपमा कार्य गरेका थिए । तत्कालिन अवस्थामा मधेश प्रदेशका डिआईजी गोबिन्द थपलिया धनुषा जिल्लाका प्रहरी उपरिक्षक हुँदा साह सँग राम्रो सम्बन्ध बनाएकै कारण “म जे गरे पनि मलाई केही हुन् सक्दैन, डिआईजी थपलियाको आर्शिवाद रहे सम्म मलाई कुनै किसिमको डर छैन” भनि धाक लगाउदै आफ्नो घुमुवालाई निर्वाध रुपमा असुली गर्न निर्देशन दिएको समाचार स्रोतले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले बेला–बेलामा मधेश प्रदेशका विभिन्न प्रहरी कार्यालयहरुमा घुमुवाको रुपमा काम गर्ने प्रहरीहरुलाई कारवाही स्वरुप ताने पनि ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक साह सँग डिआईजी थपलियाको पुरानो सम्बन्धका कारण सो क्षेत्रबाट खुल्लेयाम रुपमा तस्करी भईरहँदा समेत हालसम्म कुनै किसिमको कारवाही नभएको ती स्रोतको भनाई रहेको छ ।

सो सम्बन्धमा ईप्रका सिम्रोनगढका प्रहरी निरीक्षक साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन । सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको भए पनि प्रहरी प्रधान कार्यालयले डिआईजी थपलिया र प्रहरी निरीक्षक साह माथि अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन स्थानियहरुले माग गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

कोल्हवीमा निःशुल्क स ...

रंजित चौरसिया,कलैया २२ जेठ। कोल्हवी नगरपालिकाको आयोजना तथा नेशनल मेडिकल कलेज वीरगञ्जको प्राविधिक सहय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१