Siraha Times
ताजा समाचार

शिशुवारी क्याम्पसलाई १ करोड सहयोग घोषणा, दाता परिवारको नाम जोड्ने निर्णयपछि विवाद

  • जेठ १७, २०८३
  • ६०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ १७ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ स्थित शिशुवारी क्याम्पसलाई व्यवसायी तथा समाजसेवी विरेन्द्र न्यौपानेले आफ्नी स्वर्गीय पत्नी कमला न्यौपानेको स्मृतिमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

क्याम्पस व्यवस्थापन समिति तथा स्थानीय समुदायको आग्रहमा न्यौपानेले उक्त सहयोगको घोषणा गरेका हुन्। सहयोग घोषणापछि क्याम्पस व्यवस्थापन समितिले स्थानीय जनसमुदायको भेलामार्फत क्याम्पसको नाममा दाता परिवारको नाम जोड्ने निर्णय गरेको जनाएको छ। समितिका अनुसार यस्तो निर्णयले दाताप्रति सम्मान व्यक्त गर्नुका साथै आगामी दिनमा अन्य व्यक्ति तथा संस्थाबाट समेत सहयोग जुटाउन सहज वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।

स्थानीय समुदायको चन्दा, सहयोग र सक्रिय सहभागितामै स्थापना भई सञ्चालन हुँदै आएको शिशुवारी क्याम्पस अहिले यस क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा विकास हुँदै गएको छ। हाल क्याम्पसमा करिब २५० जना विद्यार्थी अध्ययनरत रहेका छन्।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा सुरुङ्गा नगरपालिका–१ का वडा अध्यक्ष राजकुमार राउतले क्याम्पसको दीर्घकालीन विकासका लागि विभिन्न योजना अघि सारिएको जानकारी दिए। उनका अनुसार आगामी दिनमा मानविकी तथा कानुन संकाय सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार र स्रोत व्यवस्थापनमा समिति जुटिरहेको छ।

तर क्याम्पसको नाममा दाता परिवारको नाम थप्ने निर्णयपछि गाउँ बाहिर बसोबास गर्ने केही स्थानीय व्यक्तिहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट विरोध जनाउन थालेका छन्। उनीहरूले क्याम्पसको मौलिक पहिचान कायम राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यसै विषयलाई लिएर बढ्दै गएको विवादपछि क्याम्पस प्रशासनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा क्याम्पस पक्षले विरोध गरिरहेका व्यक्तिहरूलाई तथ्य र वास्तविकता बुझ्न खुला छलफलमा सहभागी हुन आग्रह गरेको छ।

क्याम्पस व्यवस्थापन समितिले शैक्षिक संस्थाको विकास, गुणस्तरीय शिक्षा विस्तार र नयाँ संकाय सञ्चालनका लागि सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको उल्लेख गर्दै अनावश्यक विवादभन्दा क्याम्पसको समृद्धि र शैक्षिक उन्नतिमा केन्द्रित हुन सबैलाई अनुरोध गरेको छ।

समितिले दाता तथा सहयोगकर्ताहरूको सम्मान गर्ने संस्कृतिले शैक्षिक संस्थाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिशुवारी क्याम्पसलाई क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सामूहिक सहकार्यको आवश्यकता रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्झनामा सप्तरीको खडक ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१